Kathmandu Press

उपविजेता टोलीका प्रत्येक खेलाडीलाई एक लाख पुरस्कार

विराटनगर, चैत १० : अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको ....

उपविजेता टोलीका प्रत्येक खेलाडीलाई एक लाख पुरस्कार
फाइल फोटो

विराटनगर, चैत १० : अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

एन्फाको शनिबार साँझ विराटनगरमा सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले प्रत्येक खेलाडीलाई एक लाख दिने निर्णय गरिएको बताए।

यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश १ सरकारले एक लाख तथा विराटनगर महानगरपालिकाले ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको थियो।

यसैगरी एन्फाले आर्थिक वर्ष ०७५/७६ का लागि २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकामा धन्यवाद दिँदै प्रदेश १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए।

उनले प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने बताए । विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ थियो।

साफ महिला फुटबल सम्पन्न गर्न विराटनगर महानगपालिकाबाट एक करोड २० लाख र प्रदेश सरकारबाट ५० लाख भौतिक पूर्वाधारका लागि प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकूदबाट प्रतियोगिता सम्पन्न गर्न एक करोड ६५ लाख प्राप्त हुने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए ।

यसैगरी खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल संघलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय साधारणसभाले गरेको छ। (रासस)

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, चैत १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्