Kathmandu Press

पुरानो मितिमा चेक काट्दै लम्कीचुहा नगरपालिका

कैलाली, साउन ६ : कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ।  नगरप....

पुरानो मितिमा चेक काट्दै लम्कीचुहा नगरपालिका

कैलाली, साउन ६ : कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ।  नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो। 

गत आव सकिएर नयाँ आव २०७७/७८ शुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको हो।  नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका हुन्। 

नगर प्रमुख महादेव बजगाईँले  शुरुमा आफू काठमाडौं रहेको र चेक काट्ने कुरा असार मसान्तमा सकिसकेको बताए पनि पछि कोरोना रोकथामका बेला भएका खर्चको भुक्तानी दिनुपर्ने बाध्यता रहेको र त्यसै कारणले कर्मचारीले चेक काटेको आफूलाई रिर्पोटिङ आएको बताए।

नगर प्रमुख बजगाईंले गत आवको कागजात मिलाउने काममा पनि कर्मचारी लागेको स्वीकार गर्दै तिनले नियमसंगत रुपले क्वारेन्टाइन व्यवस्थापनको खर्चको चेक काटेको दोहो¥याए। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले भने कानूनअनुसार गत वर्षको मिति राखेर नयाँ चेक जारी गर्न नमिल्ने कुरा स्वीकारेका छन्।

चेक काटिरहेका अवस्थामा भेटिएका लेखा अधिकृत धर्मराज उपाध्यायले नगरपालिकाको कार्यालयमा भीडभाड हुने तथा काम गर्न असहज भएको हुनाले आवासगृहमा चेक काटेको बताए। उनले आफू सेवामा नयाँ प्रवेशी भएकाले केही प्राविधिक कुरा जानकारी नभएको स्वीकार्दै अब कोष तथा लेखा नियन्त्रण कार्यालयसँगको छलफलमा अघि बढ्ने स्पष्ट पारे। 

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशी गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानूनसम्म नभएको बताउँछन्। भुक्तानीका लागि गत वर्ष नै काटिसकेका चेक सम्बन्धित पक्षलाई वितरण गर्न आव सकिएको ३० दिन अवधि दिइए पनि पुरानो आवको चेक अहिले नयाँ आव सुरु भइसकेका अवस्थामा काट्नु कानून विपरीत हुने जोशीले बताए।

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्