Kathmandu Press

मेसीको दुई गोलमा बार्सिलोना विजयी 

काठमाडौं, साउन ५ : कप्तान लियोनल मेसीले दुई गोल गरेपछि स्पेनिस ला लिगामा लिगको अन्तिम खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा म....

मेसीको दुई गोलमा बार्सिलोना विजयी 

काठमाडौं, साउन ५ : कप्तान लियोनल मेसीले दुई गोल गरेपछि स्पेनिस ला लिगामा लिगको अन्तिम खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेसमाथि ५–०को जित निकालेको हो ।

अलाभेसविरुद्ध सहज जित दिलाउने क्रममा मेसीले दुई गोल गरे भने लुइस सुआरेज, अंशुमन फाती र सेमेडोले एक–एक गोल गरेका थिए । २४ औं मिनेटमा मेसीको पासमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यो असिस्टसँगै मेसी सिजनमा सर्वाधिक असिस्ट गर्ने बार्सिलोनाका खेलाडी बने । २२ असिस्ट गरेका मेसीले जाभीको कीर्तिमान तोडेका हुन् । 

३४औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले रुगी पुचको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा जुडी अल्बाको पासमा सुआरेजले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ३–०को अग्रता लियो । ५७औं मिनेटमा पुचकै पासमा सेमेडोले गोल गर्दै बार्सिलोनालाई ४–०को अग्रता दिलाए । ७५औं मिनेटमा अल्बाको पासमा कप्तान मेसीले गोल गरेपछि बार्सिलोनाले लिगको अन्तिम खेलमा ५–०को जित निकाल्यो । 

आइतबार अलाभेसविरुद्ध दुई गोल गरेसँगै मेसीले ला लिगाको गोल्डेन बुट जित्ने पक्का भएको छ । मेसीले यो सिजन लिगमा २५ गोल गरेका छन् । उनलाई २१ गोल गरेका रियल मड्रिडका करिम बेन्जिमाले पछ्याइरहेका छन् । 

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले लिग दोस्रो स्थानमा सकायो । उसले ३८ खेलमा २५ जित, ७ बराबरी र ६ हारका साथ ८२ अंक जोड्यो । यता, अलाभेस भने ३९ अंकका साथ १५औं स्थानमा छ ।

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, साउन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्