सलमान खानसँग के कुरा मिल्छ अनमोलको?
काठमाडौं, चैत ९ : नायक अनमोल केसीले कुनै एउटा कार्यक्रममा भनेका थिए–अरुभन्दा आफूलाई फरक रुपमा स्थापित गर्छु। त्यो भनेको वर्षमा एउटामात्रै तर, दम....

काठमाडौं, चैत ९ : नायक अनमोल केसीले कुनै एउटा कार्यक्रममा भनेका थिए–अरुभन्दा आफूलाई फरक रुपमा स्थापित गर्छु। त्यो भनेको वर्षमा एउटामात्रै तर, दमदार फिल्म खेल्छु।
तर, अनमोलले आफ्नो त्यो प्रतिबद्धता धेरै समय टिकाउन सकेनन्। अनमोलले यो वर्षमात्रै दुईवटा फिल्म खेले–‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’। अनमोल अभिनित चलचित्र क्याप्टेन प्रदर्शनमा आइसकेको छ भने ‘ए मेरो हजुर ३’ प्रदर्शनको तयारीमा छ। फागुन १७ मा रिलिज भएको फिल्म ‘क्याप्टेन’मा इशानको रुपमा दर्शकसामू आएका अनमोललाई चैत २९ मा रिलिज हुने ‘ए मेरो हजुर ३’ मा एक प्रेमीका रुपमा देख्न पाइनेछ।
हरेक फिल्ममा नयाँ अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्दै आएका अनमोलले चलचित्र ‘ए मेरो हजुर ३’ मा चर्चित नायिका झरना थापाकी छोरी सुहाना थापाको प्रेमीका रुपमा देखिने छन्। त्यसो त अनमोलका एक वर्षमै दुई चलचित्र प्रदर्शनमा यसअघि नआएका होइनन्। तर, केही समयको अन्तरालमा चलचित्र प्रदर्शनमा आएका थिए। यो वर्ष क्याप्टेन फिल्म प्रदर्शनमा आएको एक महिनाभित्रै अनमोल अभिनित अर्को चलचित्र ए मेरो हजुर–३ चैत २९ मै प्रदर्शनमा आउँदैछ।
फिल्म रिलिज हुँदा तीन–चार जना बडिगार्डसहित फिल्म हल पुग्ने अनमोललाई बलिउडका अभिनेता सलमान खानसँग तुलना नगरिएको पनि होइन। अनमोल र सलमानबीच अर्को एउटा समानता पनि छ, त्यो हो हरेक फिल्ममा नयाँ अभिनेत्रीलाई फिल्मी दुनियाँमा डेब्यू गराउने। बलिउड अभिनेता सलमानले आफ्ना धेरै फिल्मा नयाँ अभिनेत्रीलाई डेब्यू गराएर चलचित्र क्षेत्रमा स्थापित गराएका थुप्रै उदाहरण पनि छन्। सलमानजस्तै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोलले पनि नयाँ फिल्ममा नयाँ नायिकासँग देखिएका छन्।
अनमोलसँग फिल्म खेलेर चर्चामा आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा स्थापित भइसकेकी छिन्। तर, कतिपय नायिकाहरु भने चलचित्र क्षेत्रमा स्थापित हुन सकेनन्। नायिकाहरु अदिती बुढाथोकी, सृष्टि श्रेष्ठ, आना शर्मालगायतले अनमोलसँग फिल्म खेले पनि चलचित्र क्षेत्रमा स्थापित हुन प्रयासरत छन्। उनीहरु अभिनयले भन्दा पनि सामाजिक सञ्जालमा राख्ने फोटोका कारणमात्रै बेलाबेलामा चर्चामा आउँछन्। आना शर्मा पछिल्लो पटक फिल्म ‘द म्यान फर्म काठमाडौं’ मा देखिएपनि खासै चर्चा कमाउन सकिनन्।
तर, अनमोल केसीका फिल्मले राम्रो व्यापार नगरेपनि चर्चा भने अझै बढ्दै गइरहेको छ। अझ केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बाबु र पत्नीसहित हलमै गएर क्याप्टेन फिल्म हरेपछि अनमोलको प्रशंसा गरेका थिए। त्यसपछि अनमोलको फ्यान फ्लोइङ झनै बढेको छ। क्याप्टेन फिल्ममा पहिलो पटक फुटबल खेलाडीको रुपमा देखिएका अनमोलले फरक भूमिकामा पनि फिट हुन्छु भन्ने प्रमाणित गरिसकेका छन्।
अघिल्ला फिल्ममा जस्तै क्याप्टेनमा पनि उनले नयाँ अनुहारलाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याएका छन्। अनमोलले क्याप्टेनमा नवनायिकाद्वय उपासनासिंह ठकुरी र प्रियंका एम्भीसँग स्क्रिन सेयर गरेका थिए। पहिलो फिल्मबाटै यी दुबै अभिनेत्रीको अभियनको तारिफ चलचित्र क्षेत्रमा भएको छ। तर, यी अभिनेत्रीले चलचित्र क्षेत्रमा भोलिका दिनमा कत्तिको स्थान पाउँछन्, त्यो हेर्न बाँकी नै छ।
क्यापटेन रिलिज भएर हलबाट उत्रिए लगत्तै अनमोल अर्को फिल्म ‘ए मेरो हजुर ३’ को प्रामोशनमा अहिले व्यस्त छन्। सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ३’ नयाँ वर्षको अवसरमा देशभर एकै साथ रिलिज हुँदैछ। चर्चित नायिका झरना थापाकी छोरी सुहाना अनमोलसँगै स्क्रिनमा देखिन थालेकाले पनि यो फिल्मको चर्चा व्यापक छ। अनमोल र सुहाना प्रेमी प्रेमिकाको जोडीका रुपमा फिल्ममा देखिँदै छन्। अनामोल र सुहाना अभिनित चलचित्र सफल हुन्छ वा हुँदैन त्यो हेर्न भने चैत २९ गते कुर्नु नै पर्छ।












