Kathmandu Press

बेचविखनमा परेकी चेलीलाई आमाबुवासँग भेटाउँदा जस्तो खुशी केही हुन्न

विश्व खड्का-अध्यक्ष, माइति नेपाल

माइती नेपालमा कसरी जोडिनु भयो ? 
यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने मेरो दि....

बेचविखनमा परेकी चेलीलाई आमाबुवासँग भेटाउँदा जस्तो खुशी केही हुन्न
रिवाज राई

विश्व खड्का-अध्यक्ष, माइति नेपाल

माइती नेपालमा कसरी जोडिनु भयो ? 
यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने मेरो दिमागमै थिएन । अनुराधा कोइराला दिदीले माइती नेपालको स्थापना गरेर महिला बेचविखनविरुद्ध काम गरिरहेको थाहा थियो । जब मैले अनुराधा कोइराला दिदीलाई भेटेँ, उहाँका कुरा सुने । महिलाका पीडा देखेँ । महिला र बालबालिकाले भोगिरहेका हिंसाले मलाई पनि छोयो । मनमा बिझायो । मैले पनि महसुस गरेँ, अहो महिलामाथि यति धेरै हिंसा हुँदोरहेछ । 

अर्को, अनुराधा दिदीले पनि काम गर्नु पर्छ भन्नु भयो । हिंसापीडितलाई सहयोग गर्नु पर्छ भन्नु भयो । विस्तारै विस्तारै आफूले सके अनुसार समय दिन थालेँ। पछि त यस्तो लाग्यो, अब पूरै समय दिनुपर्छ । त्यसपछि यतैतिर लागियो । 

त्यतिबेला महिला तथा बालबालिकाको अवस्था कस्तो थियो ?
माइती नेपाल २०४९ मा शुरु भयोे । त्यति बेला पनि महिला र बालबालिकाका थुप्रै समस्या थिए । बेचबिखन नै सबैभन्दा ठूलो समस्या थियो । पशुजस्तै बेचविखन हुने, नराम्रो काममा लगाइने गरिन्थ्यो । महिलाको अवस्था एकदमै जोखिपूर्ण थियो । 

त्यतिबेला कहाँ धेरै समस्या थियो ? 
त्यतिखेर सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, नवलपरासीका दिदीबहिनी बढी जोखिममा हुनुहुन्थ्यो । उनीहरूलाई विभिन्न आश्वासन दिइन्थ्यो । गरिब, अशिक्षित घरपरिवारका महिलाहरूलाई पैसाको प्रलोभन देखाइन्थ्यो र भारतको मुम्बई, दिल्ली, कोलकत्तालगायतका ठाउँ लगिन्थ्यो । त्यो बेला बेचविखन विशेष गरी देहव्यापारको लागि हुन्थ्यो । 

पहिले र अहिलेको बेचविखनको स्वरुप कस्तो छ ?
पहिले र अहिलेको मानब बेचविखनको स्वरुप आकाश–पातालको फरक छ । हिजो हाम्रा दिदीबहिनीलाई यौन शोषणको लागि ललाईफकाइ, बिहेको, कामको प्रलोभन देखाइन्थ्यो । बैबाहिक सम्बन्ध कायम गर्ने, कामको खोजीका नाममा गाउँबाट काठमाडौं, पोखरा, बिराटनगरलगायतका शहर जाने भनेर भारतका शहरमा बेचविखन हुन्थ्यो।

अहिले, बैदेशिक रोजगारीका नाममा नेपाली महिलालाई खाडी तथा अफ्रिकी मुलुकका विभिन्न ठाउँ लग्ने गरिएको छ । त्यहाँ श्रम शोषण, यौन शोषण हुने गरेको पाइएको छ । विदेश लगिएका महिलाहरू स्वदेश फर्किन नसक्दा पनि यस्तो काम गर्न बाध्य भइरहेका छन् । देशभित्रै पनि विभिन्न शहरहरूमा मनोरञ्जनका नाममा बालकालिकाको श्रम र यौन शोषण भइरहेको छ । त्यस्तै, अंग बेचविखनको नाममा पुरुषको पनि बेचबिखन भइरहेको छ । 

यसले गर्दा मानव बेचविखनको स्वरुप हिजोको भन्दा धेरै फरक भएको छ । हिजो श्रम शोषण र देशव्यापारको लागि बेचविखन गरिन्थ्यो भने आज त्यो भन्दा धेरै फरक र धेरै ठूलो क्षेत्रमा श्रम शोषण, अंग प्रत्यारोपण, यौन शोषणलगायत विभिन्न प्रयोजनका लागि बेचविखन भइरहेको छ ।  पहिले केही जिल्लाका महिलामात्रै बेचविखनमा पर्थे भने अहिले सबै जिल्लाका महिला, पुरुष, बालबालिका बेचविखनमा परिरहेका छन् । 

काम गर्दा कस्ता चुनौती खेप्नुभयो ?
जुनसुकै काम गर्दा पनि चुनौती त आउँछन नै । चुनौतीसँग जुध्दै काम गर्नुको मज्जा पनि बेग्लै हुन्छ । पहिले त देहव्यापारको लागि हुने बेचविखनको बारेमा गाउँघरमा गएर कुरा गर्न पनि सुरक्षित महसुस हुदैन्थ्यो । बेचविखन हुने गाउँ पनि थिए । त्यसविरुद्ध सचेत गराउँदा दलालहरूकै समूहले आक्रमण गर्ने, विभिन्न खालका धम्की दिने गर्थे । 

अहिले कस्तो छ ?
अहिले सबै सचेत छन् । सबैमा यो अभियानमा लाग्नुपर्छ भन्ने सोचाइ पाइन्छ । राजनीतिक दलका नेता–कार्यकर्ता, युवा, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी सबैले सघाइ रहेका छन् । यसो हुँदाहुँदै पनि हिजोको बेचविखन लुकीलुकी हुने गर्थ्यो भने आज खुल्ला रुपमा हुने गरेको छ । बेचविखनमा पर्ने मान्छे नै म आफ्नै इच्छामा जान्छु भन्ने गरेको पाइन्छ । म कामको खोजीमा जाने हो । अप्ठ्यारो परेछ भने त्यसको जिम्मेवार म आफै हुन्छु भन्ने गरेको पाइन्छ । त्यसैले अप्ठ्यारो छँदैछ ।  

प्रविधिले पनि दलालहरूलाई सहज भएको छ ? 
हिजो टेलिफोन पनि थिएन । कसैसँग सम्पर्क गर्न गाह्रो थियो । त्यसैले मान्छे खोज्न दलाल गाउँतिर जाने गर्थे । उनीहरूलाई विभिन्न बहाना बनाएर फकाउँथे । अहिले मान्छे खोज्न गाउँ नै जानु पर्दैन । सामाजिक सञ्जालले यसलाई अझै सहज बनाइदिएको छ । अहिले नेपालको पूर्वमा बसेको मान्छेले पश्चिमको मान्छेसँग सहजै कुरा गर्नसक्छ । उनीहरूलाई मान्छे फकाउन झनै सहज भएको छ । यस्ता घटनाहरू धेरै छन् । हामीले नेपाल र भारतका सिमानाकामा काम गर्दा यस्ता धेरैको उद्दार पनि गरिसकेका छौँ । 

नेपालभित्रै बेचविखनको अवस्था कस्तो छ ?
नेपाल भित्रै आधिकारिक रुपमा यौन व्यवसाय केन्द्र त छैनन् । तर पनि नेपालमा मनोरञ्जनको नाममा विभिन्न रेस्टुरेन्ट, डान्सबारहरू सञ्चालनमा छन् जहाँ कलिला उमेरका बालिकाहरू काममा लगाइएका छन् । त्यहाँ पनि ती बालिका श्रम र यौन शोषणमा परेको पाइएको छ । त्यसका अलवा नेपालभित्र सञ्चालनमा आएका मसाज पार्लरहरू छन्, त्यहाँ पनि यौन शोषण हुने गरेको पाइएको छ । त्यसमा आफ्नो इच्छाले वा सञ्चालकको जबर्जस्तीले पनि उनीहरूलाई यो पेशामा लगाइएको पाएका छौँ ।  नेपालको मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण ऐनले कसैलाई इच्छा विपरित जवर्जस्ती यस्तो काममा लगाइन्छ भने त्यसलाई मानब बेचविखन भनेको छ । त्यसैले यो पनि मानव बेचविखनको नयाँ स्वरुप हो । यसले गर्दा पनि यसलाई आन्तरिक बेचविखन भन्ने गरेका छौं । 

उनीहरू उद्दार गरेपछि पनि त्यहि काममा लागेको पाइन्छ नी ? 
नेपाल प्रहरीको सहयोग लिएर त्यस्ता जोखिमपूर्ण अवस्थामा रहेका बालिका, किशोरी तथा महिलाको उद्दार गर्छौं । त्यसपछि पुनर्स्थापनाको प्रक्रियामा जान्छौं । परिवारसँग सम्पर्क गर्छौं । उनीहरू लागुऔषधको कुलतमा परेका हुन्छन् । त्यसबाट छुटाउँन धेरै समय लाग्ने गर्छ । यसका लागि पुनस्र्थापना केन्द्रमा लामो समय राख्नु पर्छ । कतिपय अभिभावक आफूसँगै लग्छन् । घरमा लगेपनि उनीहरूको लत छुटेको हुँदैन । त्यसैले घरबाट भागेर फेरि त्यही काममा लागेको पाइन्छ । एकातिर पुनर्स्थापनाको प्रक्रिया लामो र झञ्जटिलो हुने तथा अर्कोतिर परिवारको पनि सहयोग नहुँदा यो समस्या भएको छ । 

अहिले त पुरुष पनि बेचविखनमा परेको सुनिन्छ, कसरी ?
अब त वेचविखनको परिभाषा नै परिवर्तन भइसकेको छ । यसले महिला मात्रै हैन, पुरुष पनि बेचविखनमा पर्छन भन्ने प्रष्ट भइसकेको छ । बेचविखन भनेको यौन शोषणाको लागि र यौन शोषणको प्रयोजनको लागि मात्रै हुन्छ भन्ने बुझाइ गलत हो । बेचविखन भनेको कुनैपनि व्यक्तिलाई गलत प्रक्रिया अपनाएर एक ठाउँबाट अर्को ठाउँमा लगेर उसबाट आयआर्जन गर्छ, फाइदा लिन्छ भने त्यो बेचविखन हो । पुरुषको हकमा पनि अहिले धेरै संख्यामा नेपाली युवालाई बैदेशिक रोजगारीमा काम लगाइदिन्छु भन्दै उनीहरूबाट लाखौ रुपैयाँ लिने र उनीहरूलाई गन्तब्यमा नपुर्‍याउने, अलपत्र पार्ने, छोडने, दुःख दिने गरेको पाइन्छ । यस्ता घटनाले पनि पुरुषहरू पनि बेचविखनमा परेको देखिन्छ । 

हामीले गत एक महिनामा मात्रै ३२ जना पुरुषसहित एक सय ७९ जनाको उद्दार गरेका छौं । बैदेशिक रोजगारीको नाममा गलत बाटो प्रयोग गरेर श्रम स्वीकृत नलिइ सरकारले प्रतिबन्ध लगाएका मुलुक जस्तै इराक, अफगानस्थान गइरहेको थाहा पाएपछि भारतीय प्रहरीलाई गुहारेका थियौं । मणीपुरको प्रहरीले बर्मा र  मणिपुरको सीमाना, विमानस्थल र विभिन्न होटेलबाट उद्दार गरेको थियो । 

यो २६ वर्षको यात्रालाई कसरी हेर्नु हुन्छ ? 
यो अवधिमा थुप्रै पटक दलालबाट धम्की पनि आए । गाउँघरमा जाँदा दलालले नै आक्रमण गर्न आउथ्यो । तैपनि हरेस खाइएन् । काम गर्न झन उत्साह थपेर आउँछ । उत्साह थपिरहने चिज अरु केही होइन, आत्मसन्तुष्टि हो, खुशी हो । 

कुनै पनि आमाबुवा आएर छोराछोरी हराएर भन्छन् त्यो साह्रै पीडादायि हुन्छ । जब हराएका छोराछोरी नेपाल, भारतबाट अन्य ठाउँबाट उद्दार गरेर ल्याएर आमाबुवाको जिम्मा लगाइन्छ, त्यो भन्दा खुशीको क्षण केही हुँदैन । यो कामको शुरुआत गर्दा पनि पारिवारिक मिलन नै खुशीको क्षण हुन्थ्यो, अहिले पनि सबैभन्दा खुशीको क्षण त्यही हुन्छ । त्यही खुशीका लागि अहिले पनि बेचविखन पर्न नदिन, बेचविखनमा परेका चेलीहरूको उद्धार गर्न मै तल्लिन छु र बेचविखन विरुद्ध लागिरहने छु ।

प्रकाशित मिति: ११:०५ बजे, शनिबार, चैत ९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्