चीनमा पछिल्ला तीन महिनामा ३ दशमलव २ प्रतिशतले आर्थिक वृद्धि
बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ। कोरोनाभाइरसको अनपेक्षित रुपमा....

बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ। कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको हो।
देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो।
चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ।
चिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणमा गत अप्रिल–जुन महिनाको अवधिमा कूल गार्हस्थ्य उत्पादन ३ दशमलव २ प्रतिशतले वृद्धि भएको उल्लेख छ। पहिलो चौमासिक अवधिमा चीनको अर्थतन्त्रमा करिब ६ दशमलव ८ प्रतिशतको व्यापक गिरावट आएको थियो।
तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ। चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ। अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १ दशमलव ८ प्रतिशतले कमी आएको छ।
यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिसहरु बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन्।
ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुशी ल्याउन भने सकेन। शाङ्घाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झण्डै १ प्रतिशतले घटेको छ।
एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरु बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताए।
चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ। चिनियाँ नेताहरुले पनि अर्थतन्त्रलाई गति दिन व्यापार र लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचकलाई नियाल्ने गरेका छन्।
चिनियाँ सामानको विदेशमा माग कमजोर रहेको अवस्थामा घरेलु उपभोगलाई तिब्रता दिने प्रचलन रहिआएको छ। तर इन्सका अनुसार माग भन्दा आपूर्तिलाई सामान्यीकरण गर्न सजिलो हुन्छ।
अक्सफोर्ड इकनमिक्सका लुइज कुइजले घरयासी उपभोगको परिसूचक सर्वाधिक कमजोर रहेको बताए। उनले चीनको आर्थिक स्थितिमा सन् २०२० को मध्यपछि निकै सुधार हुने विश्वास व्यक्त गरे।
चीनको तथ्यांक ब्यूरोले शहरी बेरोजगारी जुनमा ५ दशमलव ७ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो महिना यो ५ दशमलव ९ प्रतिशत थियो।
औद्योगिक उत्पादन जुन महिनामा ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। मे महिनामा यस्तो उत्पादन ४ दशमदव ४ प्रतिशतले वृद्धि भएको थियो।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले चीनको अर्थतन्त्र निरन्तर सुधारोन्मुख रहेको बताइन्।
तर चीनका मुख्य व्यापारिक साझेदार मुलुकहरुमा कोरोना महामारीले चुनौती सिर्जना गरिरहेकाले चीनको राष्ट्रिय पुनरुत्थानमा अझै पनि दबाब छ।
विश्वमै विशाल अर्थतन्त्र भएका मुलुकमध्ये चीनले मात्र सन् २०२० मा आर्थिक वृद्धि गर्ने अपेक्षा गरिएको छ।










-1754206481.jpg)
