लकडाउनको सदुपयोग, जन्मियो ‘प्रेमको भाइरस’
काठमाडौं, असार ३१ : लकडाउनको तीन महिनामा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले ‘प्रेमको भाइरस’ नामक उपन्यास तयार पारेका छन्....

काठमाडौं, असार ३१ : लकडाउनको तीन महिनामा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले ‘प्रेमको भाइरस’ नामक उपन्यास तयार पारेका छन्।
लकडाउनको समयमा अडियो एवं डिजीटल माध्यमबाट पुस्तक सार्वजनिक गर्ने तयारीमा रहेका सुरेन्द्रको उपन्यासमा भाइरसको महामारी र त्यसक्रममा भएको जुनी जुनीसम्मको प्रेमको कथा बुनिएको छ।
पूर्वजन्म, पुनर्जन्म र विश्वमा फैलीएका अनेकौं महामारीको विस्तृत चर्चा गरिएको उपन्यास ‘प्रेमको भाइरस’ले विश्व भातृत्व, प्रेम र सदभावको सन्देश दिएको उनकाे भनाई छ।
‘लकडाउन कसरी बिताउँ भन्ने लागिरहेको थियो, उपन्यासको प्लट फुरीहाल्यो, अनि लेख्न बसें’, हालसम्म दर्जनौं कृति पाठकमाझ ल्याइसकेका सुरेन्द्रले भने, ‘प्रेमको भाइरस यस्तो हुन्छ जुन एक जुनीबाट अर्को जुनीसम्म संक्रमण हुन्छ भन्ने उपन्यासको मुख्य प्लट हो।’
यसअघि सुरेन्द्रका ‘अनुश्का’, ‘मिस्ड कल’ र ‘अदभूत’जस्ता उपन्यास पाठकमाझ आइसकेका छन्, जसको अडियो भर्सन युट्युवमा सुन्न सकिन्छ।
गीत, हाइकू, तान्का, गिती नाटक, मुक्तक, लघुकथा र चित्रकला विधामा समेत आफ्नो कला पस्कीसकेका सुरेन्द्र हरेक वर्ष कुनै न कुनै कृति सार्वजनिक गर्दै आएका छन्।
काठमाडौं, पुतलीसडकका रैथाने सुरेन्द्रले सानैदेखि लेख्न थालेका हुन्। लेखनमा रस बस्दै गएपछि उनले साहित्यका धेरै विधामा हात हाले। उनका गितले विभिन्न म्युजिक अवार्ड पनि पाएका छन्।












