Kathmandu Press

विषादी परीक्षणबिनै भान्सामा पुग्छ कालिमाटीको तरकारी

काठमाडौं, चैत ५ : काठमाडौंवासीले खाने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण गर्ने काममा चरम लापरवाही हुँदै आएको छ ।

काठमाडौंको कालिमाटी तर....

विषादी परीक्षणबिनै भान्सामा पुग्छ कालिमाटीको तरकारी

काठमाडौं, चैत ५ : काठमाडौंवासीले खाने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण गर्ने काममा चरम लापरवाही हुँदै आएको छ ।

काठमाडौंको कालिमाटी तरकारी बजारमा हरेक दिन हजारौं टन तरकारी आइपुग्छ । तर, तरकारीमा विषादी प्रयोग भइरहेको छ–छैन र छ भने कति मात्रामा छ भनी हेर्ने स्रोतसम्पन्न सरकारी निकाय छैन ।  

कालीमाटी तरकारी बजारमा विषादी मापन गर्ने प्रयोगशाला त छ, तर जनशक्ति र स्रोत–साधनको अभावमा यो सरकारी निकायले खासै काम गर्न सकेको छैन ।

Hardik ivf

यो प्रयोगशालामा नायब निरीक्षकको पदमा कार्यरत राजेश्वर शर्मा भन्छन्, ‘हामीलाई  विनाविभागिय बनाइएको छ । पर्याप्त दरबन्दी पनि छैन । यसैले, राम्ररी विषादी परीक्षण गर्न सकिरहेका छैनौँ ।’

केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनका प्रमुख हरिहर अधिकारी भन्छन्, ‘कृषि मन्त्रालयबाटै दरबन्दी तोकिएको छैन । यसैले, समस्या भइरहेको छ ।’

यसरी हुन्छ तरकारी परीक्षण

कालीमाटी तरकारी बजारमा २४ सै घण्टा तरकारी भित्रने गर्दछ । बिहान त तरकारी किन्ने थोक व्यापारीहरूको भीडले कालिमाटी बजारमा खुट्टा टेक्ने ठाउँ पनि हुँदैन । तर, यस्तो अस्तव्यस्त बजारमा यति धेरै तरकारी परीक्षण गर्न जम्मा दुई जना कर्मचारी खटाइएको छ । उनीहरू बिहान सात बजेतिर कालिमाटी आइपुग्छन् । त्यति बेला सम्म हजारौ टन तरकारी कालिमाटीबाट विक्री भइ घर, रेष्टुरेन्ट र होटलका भान्सामा पाक्न थालिसकेको हुन्छ । उनीहरूले केही स्टलबाट गोडभेडा र काउलीका नमूना लगेर प्रयोगशालामा परीक्षण गर्छन् ।

यता प्रयोगशालामा परीक्षणको रिजल्ट आइसकेकै हुँदैन, उता बजारमा तरकारीको बिक्री धमाधम भइरहेकै हुन्छ । कहिलेकाहीँ कुनै तरकारीमा प्रयोग भएको विषादीको मात्रामा रातो बिन्दुसम्म पुगेको देखिन्छ । विषादी मात्रा रातो बिन्दुमा पुगेको तरकारी खानु भनेको विष खानु बराबर हो । तर, त्यसलाई रोक्ने कोही हुँदैन ।

ती कर्मचारीहरू पनि ११ नबज्दै घर जान्छन् । त्यसपछि कालिमाटीमा खन्याइने एक गेडा तरकारीको पनि विषादी परीक्षण हुँदैन ।

व्यवसायीलाई होल्ड गर्न सकिएन !

कालिमाटीमा तरकारी किनबेच गर्न आउने व्यवसायीलाई विषादी परीक्षणको रिजल्ट नआएसम्म पर्खन लाउने अवस्था नरहेको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘विषादीको परीक्षण भइसकेपछि मात्र बेच्नुस् भन्छौँ, तर बेचिरहेकै हुन्छन् । उनीहरुलाई होल्ड गर्न सकियो भने आम  उपभोक्ताले विषादी खान बाध्य हुनुपर्दैन थियो ।’

उनी भन्छन्, ‘यस्तो गम्भीर विषयमा सरकारले गम्भिरताका साथ सोच्नु आवश्यक छ ।’

पुरानो मेसिनले राम्रो परिक्षण गदैन

कालिमाटी तरकारी बजारमा तरकारी परीक्षण गर्ने धेरै मेसिनहरू पनि पुराना छन् । प्रयोगशालामा कार्यरत शर्मा भन्छन्, ‘कहिलेकाहीँ त हामी अनुमानको भरमा तरकारी परीक्षण गर्छौँ ।’

उनका अनुसार, पहिले दैनिक २० वटा स्याम्पल परीक्षण हुन्थ्यो, अहिले मेसिनको अभावमा स्याम्पल घटाएर ६ वटाको मात्रै परीक्षण गर्न थालिएको छ । 

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, चैत ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्