‘ललितकला कल्याणकारी कोष’ स्थापना अभियान सुरु
काठमाडौं, असार १५ : अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाईमा ‘ललितकला कल्याणकारी कोष’ स्थापना गर्ने अभियान सुरु गरिएको छ । कलाकारहरुलाई ....

काठमाडौं, असार १५ : अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको अगुवाईमा ‘ललितकला कल्याणकारी कोष’ स्थापना गर्ने अभियान सुरु गरिएको छ । कलाकारहरुलाई समस्या परेको समयमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो।
कलाकारहरुलाई आर्थिक अवस्थाले कामलाई निरन्तरता दिन अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले कोेष स्थापना गर्न लागेको समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताए। उनी भन्छन्, ‘कामको सुरुवाती चरणमा कलारहरुबाट राम्रै प्रतिवद्धता मिलिरहेको छ। अहिलेको स्थिती पैसा भन्दा पनि प्रतिवद्धता गर्नु ठूलो कुरा हो । यसरी उठेको रकमलाई विशेषगरी कलाकारको स्वास्थ्य उपचारमा प्रयोग गरिनेछ ।’
यस अभियानमा जुटेको चार दिनमा ४५ जना कलाकारले समर्थन जनाइसकेका छन्। पहिलो चरणको यस अभियानमा ३ लाख रुपैयाँ जम्मा पार्ने जमर्को गरेको गुरुङले बताए। यसै गरी दोस्रो चरणमा भने १० लाख रुपैयाँ रकम जुटाउने लक्ष्य राखेको छ। जसमा चित्रकला प्रदर्शनीबाट उठेको रकम, व्यक्ति, संस्था तथा सरकारी तर्फबाट पनि सहयोगको हात बढ्ने अपेक्षा गुरुङले गरेका छन्।
यसरी उठाइएको रकमले दिर्घकालिन रुपमा कलाकारलाई नै साथ दिने भएकोले कलाकारबाटै अभियान थालनी गरिएको हो।