स्पेनिस ला लिगा : बार्सिलोना र सेल्टा भिगो बराबरीमा रोकिए
काठमाडौं, असार १४ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगो बराबरी खेलेका छन् । दुई पटक अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सेल्टालाई उसै....

काठमाडौं, असार १४ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगो बराबरी खेलेका छन् । दुई पटक अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सेल्टालाई उसैको घरेलु मैदानमा हराउँनबाट चुक्यो र २-२ को बराबरीमा रोकिन बाध्य भयो ।
खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गर्यो । ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काएका थिए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।
६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई स्वारेजले डिफेन्सको दबाब चिर्दै उत्कृष्ट टर्नमा गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको तीन मिनेट बाँकी रहँदा सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ ।











