Kathmandu Press

माधव नेपालले बाँडेको ‘जन्तर’ले कोरोना मार्न नसक्ने, श्वासप्रश्वासमा समस्या ल्याउने 

काठमाडौं, असार १३ : बुधबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिका सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ वितरण गरे। को....

माधव नेपालले बाँडेको ‘जन्तर’ले कोरोना मार्न नसक्ने, श्वासप्रश्वासमा समस्या ल्याउने 

काठमाडौं, असार १३ : बुधबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिका सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ वितरण गरे। कोरोना भाइरसबाट बच्न सकिने भन्दै नेपालले कार्ड वितरण गरेका हुन्। 

तर, हालसम्म कोरोनाबाट बचाउने खालको कार्ड, औषधि वा भ्याक्सिन बनिनसकेको विज्ञहरुले बताएका छन्।  स्थायी समिति सदस्यलाई परिचयपत्र जस्तै देखिने ‘कार्ड’ वितरण गरिएपछि सामाजिक सञ्जालमा ‘कोरोना जन्तर’ का रुपमा टिप्पणी भइरहेको छ।

चीनमा उत्पादन भएको कार्डले मानिसलाई कोरोनाबाट बचाउन सक्छ त? त्यसको ठोस वैैज्ञानिक आधार भने छैन। चिनियाँ पत्रिका सिटिजिएनले यस्ता कार्डले कोरोना भाइरस नष्ट गर्न नसक्ने भन्दै समाचार प्रकाशित गरेको छ।  

समाचार अनुसार कार्डमा क्लोरिन डाइअक्साइड भएको डिसइन्फेक्टेन्ट छ। त्यस्ता डिसइन्फेक्सन कार्डलाई इ–कमर्स प्लेटफर्ममा पोर्टेबेल एयर प्युरिफायर भनेर प्रचार गरिएको छ। यस्ता उत्पादनले ३० देखि ६० दिनसम्म क्लोरिन डाइअक्साइडको थोरै मात्रा ५० सेन्टिमिटर ब्यासमा भाइरस, ब्याक्टेरिया, धुँवा लगायत सफा गर्ने दाबी गरिएको छ।

यस्ता कार्डले नोभेल कोरोना भाइरस समेत नष्ट गर्ने बताइएको छ। क्लोरिन डाइअक्साइडले सामान्यतया ब्याक्टेरिया नष्ट गर्ने चाइना फार्मास्युटिकल युनिभर्सिटीको स्कूल अफ फार्मेसीका प्राध्यापक यिन लिफाङले बताए। 

तर, छोटो अवधिमा निर्मलीकरण गर्नका लागि क्लोरिन डाइअक्साइडको सघनता उच्च हुनुपर्छ। यसले श्वासप्रश्वास नलीमा जलन हुनसक्छ। कोही नभएको बेला प्रयोग गर्नु उपयुक्त हुन्छ।

बजारमा पाइने डिसइन्फेक्सन कार्डमा तीनदेखि १५ ग्राम क्लोरिन डाइअक्साइड उत्पादन गर्ने क्षमता हुन्छ।  ‘घाँटीमा लगाइने डिसइन्फेक्सन कार्डले न्यून सघनता भएको क्लोरिन डाइअक्साइड उत्पादन गर्छ। त्यो पनि हावाले उडाएर लैजान्छ। त्यसैले प्रभाव पनि सीमित हुन्छ,’ साङ्छी युनिभर्सिटीको इन्स्टिच्युट  अफ इन्भाइरोन्मेन्टल साइन्सका निर्देशक दोङ च्वानले भने।

यसबाहेक क्लोरिन डाइअक्साइड ग्याँस स्थिर नहुने र लामो समयसम्म नरहने यिनले बताए। ‘कार्डजन्य उत्पादनमा क्लोराइटले क्लोरिन डाइअक्साइड ग्याँस उत्पादन गर्नसक्छ। प्रयोग गर्दा कार्ड नष्ट भए क्लोराइट चुहावट हुनसक्छ। यो क्लोराइट छाला वा पसिनासँग सम्पर्कमा आए क्लोरिन उत्पादन हुनसक्छ। यसले छाला डढ्ने वा श्वासप्रश्वासमा विषाक्तता हुनसक्छ,’ उनले भनेका छन्।

जापानको कन्ज्युमर अफेयर्स एजेन्सीले नोभेल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सक्ने दाबी गर्ने उत्पादनको गलत विज्ञापनबारे मार्चमै सावधान गराएको थियो। तीमध्ये डिसइन्फेक्सन कार्ड पनि एउटा उत्पादन हो।
 

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, असार १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्