क्वारेन्टाइन बनाइएकाे विद्यालयमा आगलागी हुँदा १५ लाख बराबरकाे क्षति
डोटी, असार १२ : केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ....

डोटी, असार १२ : केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट विद्यालयमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विद्युत चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई उक्त विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बसेकाहरुको सुरक्षाका लागि ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए।
स्थानीय, क्वारेन्टाइनमा बसेका नागरिक तथा प्रहरीसहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए। आगलागीबाट विद्यालयको कार्यालय कोठामा रहेको डेस्कटप कम्प्युटर पाँच थान, ल्यापटप एक, फोटोकपि मेशिन दुई, प्रिन्टर एक, ई–हाजिरी मेशिनलगायत मेशिनरी सामान जलेर नष्ट भएको छ।
त्यसैगरी आगलागीबाट विद्यालयका काठका बेन्ज, टेबुल, ह्वाइट बोर्ड १०, प्लाष्टिकका कुर्सी ३०, बुक कर्नर (¥याक) एक, ५० हजार रुपैयाँ बराबरका खेलकुदका सामग्री, विद्युत्को मिटर तथा तार, डिजे एक वटा जलेर खरानी भएको छ। लाइब्रेरीका झण्डै दई लाख ५० हजार रुपैयाँ बराबरका पुस्तक, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन्।











