पीसीआर परीक्षण गरेको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइयो
बाजुरा, असार १२ : बाजुराको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टाइन्मा बसेका १८ जनालाई घर पठाइएको छ। क्वारेन्टाइनमा बसेको १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदे....

बाजुरा, असार १२ : बाजुराको बूढीगङ्गा नगरपालिकाको क्वारेन्टाइन्मा बसेका १८ जनालाई घर पठाइएको छ। क्वारेन्टाइनमा बसेको १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
क्वारेन्टाइनमा बसेका १८ मध्ये ११ जनाको आरडिटी परीक्षणमा एन्टीबडी पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट आउन ढिलो भएको भन्दै बूढीगङ्गा नगरपालिका–१ धुरालसैन क्वारेन्टाइनमा बसेका १७ र वडा नम्बर २ को वसन्त प्राविको क्वारेन्टाइनमा रहेकी एक महिलालाई घर पठाइएको हो।
क्वारेन्टाइनमा बसेको १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ।
'१४ दिनसम्म पनि पीसीआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडिटी पोजेटिभ व्यक्तिलाई घर पठाइएको हो।' सरकारको मापदण्डअनुसार घरको आइसोलेसनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दीया सिंहले बताइन्।
यसअघि पनि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जनालाई पीसीआर परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएको थियो।











