Kathmandu Press

डिडिसीकाे दुग्धजन्य पदार्थमा छुट

काठमाडौं, असार ११ : बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान ....

डिडिसीकाे दुग्धजन्य पदार्थमा छुट

काठमाडौं, असार ११ : बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ। यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० रुपैयाँ र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ।

घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार थोक मूल्य प्रतिलिटर ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ। यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ।

२० रुपैयाँ छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र  पाइने जनाइएको छ। एक हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई ८० रुपैयाँ र धुलो दुध खरीद गर्नेलाई १० रुपैयाँ छुट दिइएको डिडिसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिए। उनका अनुसार यसअघि नौनी प्रतिलिटर ७८० रुपैयाँ र धुलो दूध प्रतिलिटर छ सय रुपैयाँ थियो।

डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौंडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ। यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क (घ्युसहितको दूध) एक हजारभन्दा बढी खरीदमा १० रुपैयाँ छुट दिइएको छ। यसअघि थोकमूल्य ७५० रुपैयाँ थियो।

बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिए। डिडिसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ।

बन्दाबन्दीअघिको तुलनामा काठमाडौं उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ। उनका अनुसार बन्दाबन्दीअघि काठमाडौं उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा आज ७६ हजार लिटर बिक्री भएको छ। दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्