चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु
राजविराज, असार ११ : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीका अनुसार ....

राजविराज, असार ११ : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीका अनुसार सप्तकोशी नदीमा आज बिहान नुहाउन गएका महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको कोशी पुल नजिक परेको चट्याङ लागेर मृत्यु भएको हो।
यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए।
राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन्। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।











