Kathmandu Press

काठमाडौं महानगरपालिकाद्वारा प्रस्तुत बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा छुट 

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाद्वारा बुधबार प्रस्तुत बजेटमा होटल तथा पयर्टन क्षेत्रले सम्पति करमा भारी छुट पाउने भएको छन्। महानगरपालिकाकी उ....

काठमाडौं महानगरपालिकाद्वारा प्रस्तुत बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा छुट 

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाद्वारा बुधबार प्रस्तुत बजेटमा होटल तथा पयर्टन क्षेत्रले सम्पति करमा भारी छुट पाउने भएको छन्। महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले बजेट प्रस्तुत गर्दै कोरोना भाइरसको माहामारीले संकटमा परेका होटल तथा पर्यटन क्षेत्रले सम्पति करमा छुट पाउने बताइन्। 

महानगरपालिकाले हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएका असरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने जनाएको छ। २०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ।  

बार्षीक बहाल करमा १० प्रतिशत छुट

महानगरपालिकाले हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षीक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ। ‘तर, आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने बार्षीक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ।

व्यवसाय करमा ५० प्रतिसतसम्म छुट

त्यसैगरी काठमाडौं महनगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा ५० प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटल, चारतारे होटल, तीनतारे होटल, दुइतारे होटल, एकतारे होटल, चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे, होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेललगायत रहेका छन्। 

त्यसैगरी होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा विदेशी विमान सेवा स्वदेशी विमान सेवा हस्तकला निर्यात ब्यवसाय, क्यासिनो, वायुयान भाडामा लगाउने व्यावसाय, ट्रेकिङ सामान पसल, डिस्को थेक, नाइट क्लब, विविध मनोरञ्जन सेवा प्रदान गर्ने व्यावसाय, थान्का पसल, वैदेशिक रोजगार सम्पर्क व्यवसाय, डान्स ट्रेकिङ सेन्टर, संगित सम्वन्धि सेवा प्रदान गर्ने व्यावसायलगायत पर्दछन्।

आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ल्याएको १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेटमा महानगरपालिकाले आम्दानी प्रक्षेपण छ। 

जसमा आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्दानी गर्ने लक्ष्य लिएको छ।  आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड रुपैयाँ असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ।

त्यसैगरी  व्यवसाय करबाट ४० करोड रुपैयाँ, विज्ञापन करबाट ६ करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ। शुल्क आयबाट भने १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ। कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ। महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ। 

कोभिड–१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता 

महानगरले कोभिड–१९ को असर, रोकथाम र यसवाट पर्नसक्ने प्रभाबको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरेको छ।   

महानगरका लागि विशेष महत्व मानिने योजनाहरु काठमाडौं महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ।  

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रविधीमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ।
    
गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड 

महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वर्द्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट विनियोजन गरेको छ। गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ। ‘महानगरबाट संचालित विकास कार्यक्रमको सुनिश्चितताको सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा  कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भनिन्, ‘हामीबाट संचालित विकासका गतिविधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पुरा गर्न हामी जनप्रतिनिधी,सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिवद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन।’ 

कर वक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट 

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६–०७७ को सबै प्रकारका कर वक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ। त्यसैगरी कोभिड–१९ का कारण महानगरवासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ।‘घर जग्गा कर वा सम्पत्ति करको वक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर छुट हुनेछ।’

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्