Kathmandu Press

महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ : देउवा

काठमाडौं, असार १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच व....

महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ : देउवा

काठमाडौं, असार १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न खोजेको भन्दै त्यस्तो विभेद नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेका छन्। 

सुशासन समितिले आइतबार पारित गरेको विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्ष पछि नागरिकता दिने उल्लेख छ। तर, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने सन्दर्भमा विधेयक मौन छ।  

बुधबार ट्वीट गर्दै देउवाले संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको उल्लेख गर्दै छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समाजलाई स्विकार्य नभएको जनाएका छन् ।  ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ। हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई  बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि,’ उनले भनेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

उनले महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङगका आधारमा विभेद नहुने वातावरण बनाउन सत्तारुढ दल नेकपासँग माग गरेका छन्।  ‘महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु,’ उनले भनेका छन्।


 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्