लिपी भीरमा पहिरो, बाटोमै रोकिए ट्रक र कन्टेनर
मेलम्ची, असार ९ : चीनसँगको तातोपानी नाका जोड्ने सडकको लिपी भीरमा पहिरो गएपछि मालबाहक कन्टेनर बाटोमै रोकिएका छन्।
तातोपानी जोड्ने सडकखण्डको ल....

मेलम्ची, असार ९ : चीनसँगको तातोपानी नाका जोड्ने सडकको लिपी भीरमा पहिरो गएपछि मालबाहक कन्टेनर बाटोमै रोकिएका छन्।
तातोपानी जोड्ने सडकखण्डको लिपी भीर नजिकै पहिरो गएको हो। पहिरोको कारण तातोपानीको लिपी बजारदेखि दुई सय मिटर नजिकै १४ कन्टेनर बाटोमै रोकिएका छन्।
चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ। तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन्।
त्यस्तै, कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन्।
यसअघि पनि लिपी भीरमै पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो। बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताए। कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुन सञ्चालनमा आएको थियो।
तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। (रासस)











