इपिएल : हार्यो आर्सनल, रोकियो लेस्टर
काठमाडौं, असार ७ : इंग्लिस प्रिमियर लिगमा आर्सनलले खराब प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ले पराजित भयो । ....

काठमाडौं, असार ७ : इंग्लिस प्रिमियर लिगमा आर्सनलले खराब प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ले पराजित भयो ।
कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा आर्सनलको यो लगातार दोस्रो हार हो । लिगको पहिलो खेलमा आर्सनल म्यान्चेस्टर सिटीसँग ३–०ले पराजित भएको थियो ।
आर्सनललाई स्तब्ध बनाउने क्रममा ब्राइटनका लेविस डंक र नेल माउपेले गोल गरे भने आर्सनलका निकोलस पेपेले गोल गरेका थिए ।
खेलका तीनै गोल दोस्रो हाफमा सम्भव भयो । ६८औं मिनेटमा डिबक्सको लेफ्ट कर्नरबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई अग्रता दिलाए । ७५औं मिनेटमा डंकले गोल गर्दै खेललाई बरारीमा ल्याए । इन्जुरी समयमा माउपेले गोल गरेपछि आर्सनल स्तब्ध भयो ।
यसैगरी, शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ । लेस्टरलाई रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग १–१को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाए ।
४० अंक जोडेको आर्सनल नवौं स्थानमा छ भने ३२ अंकका साथ ब्राइटन १५औं स्थानमा छ । वाट्फोर्डसँगको बराबरीसँगै लेस्टर ५४ अंकका साथ तेस्रो स्थानमा छ । वाट्फोर्ड २८ अंकका साथ १६ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानको सिटीको ६० अंक छ ।











