कोरियाबाट सुदूरपश्चिमका लागि पिसिआर किट
काठमाडौं, असार ६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ।
एनआरएन कोरिया श....
काठमाडौं, असार ६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ।
एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार पाँच सय थान पिसीआर किट हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
सो क्रममा मन्त्री भट्टले सरकारीस्तरबाट भइरहेका काममा एनआरएनए र नीजि क्षेत्रलगायतबाट भइरहेको सहयोगले कोभिड–१९ नियन्त्रणमा सजिलो हुने बताए। कोभिड–१९ को महामारीपछि भारतमा रहेका झण्डै चार लाख नेपाली सुदूरपश्चिम प्रदेशमा भित्रिएको बताइएको छ।
त्यसैगरी मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन काठमाडौँदेखि डडेल्धुरा पठाइएको छ। फाउन्डेसनले सुदूरपश्चिम र स्वदेश तथा विदेशमा रहँदै आएका समाजसेवी, व्यापारीलगायतका दाताबाट सङ्कलन गरिएको रकमले खरिद गरिएको मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने बताइएको छ।
सुदूरपश्चिममा हाल एक मात्र पिसीआर मेसिनबाट कोभिड–१९ को परीक्षण भइरहेको छ।











