नेपालीसँग विहे गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय
काठमाडौं, असार ६ : सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विवाह भएको सात वर्षपछि मात्रै विदेशी महिलालाई अंगिकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभ....

काठमाडौं, असार ६ : सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विवाह भएको सात वर्षपछि मात्रै विदेशी महिलालाई अंगिकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ।
शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात बर्षपछि मात्रै नागरिकता दिने निर्णय गरेको हो। तर, नेपाली महिलासँग विहे गर्ने पुरुषलाई अंगिकृत नागरिकता दिन नहुने निष्कर्ष पनि बैठकले निकालेको छ।
नेकपाका महिला सांसदहरुले नेपाली महिलासँग विहे गरेर आउने पुरुषलाई पनि अंगिकृत नागरिकता दिनुपर्ने माग राख्दै आएका थिए। तर सचिवालय बैठकले उक्त प्रस्तावलाई अस्विकृत गरेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेस र मधेश केन्द्रीत दलहरु भने तोकिएको मापदण्ड पुरा गरे विदेशबाट विहे गरेर आउने महिलालाई प्रक्रिया पुरा गराएर नागरिकता दिनुपर्ने धारणा राख्दै आएका छन्।
नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको छैन।









-1792413548.jpeg)

