Kathmandu Press

संसदीय समिति रुकुम पश्चिममा, घटनाको छानबिन सुरु

पश्चिम रुकुम, असार ५ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छ....

संसदीय समिति रुकुम पश्चिममा, घटनाको छानबिन सुरु

पश्चिम रुकुम, असार ५ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ।

घटनाको छानबिनका लागि  सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग छलफल गरेको हो। समितिले जेठ १० गते ६ जनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नका साथै सल्लाहसुझावसमेत लिएको छ।

सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिएको थियो भने समितिले  यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो। प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट फर्केको हो।

टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नुका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो। त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाबारे जानकारी लिएको थियो।

सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद  पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ। समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव घटनाको छानबिनका क्रममा रुकुम पश्चिममा छन्।

यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंँ फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र  चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो।

उक्त घटनामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ। तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन्।

पक्राउ परेको सबैको बयान सकिएको छ। आजदेखि जिल्ला अदालतमा थुनछेकको बहस हुनेछ।

 

प्रकाशित मिति: ०९:५९ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्