कोरोनाबाट मर्नेकोे संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै : अध्ययन
काठमाडौं, असार ४ : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै रहेको एक अध्ययनले देखाएको छ। कोरोनाबाट संसारभर थप एक....

काठमाडौं, असार ४ : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै रहेको एक अध्ययनले देखाएको छ। कोरोनाबाट संसारभर थप एक लाख ३० हजारको मृत्यु भएको जनाएको छ।
बिहीबारसम्म संसारभर कोरोनाबाट चार लाख ५१ हजार सात सय चार जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, अहिलेसम्म ८४ लाख १९ हजार एक सय ११ जनामा कोरोना देखिएको छ। विभिन्न देशका सरकारले सार्वजनिक गरेको यो संख्या आएको हो।
तर, बीबीसीले गरेको अध्ययनमा कोरोनाबाट मृतकको संख्या अझै धेरै छ। अहिले आएको भन्दा थप एक लाख ३० हजारको मृत्यु भएको अध्ययनले देखाएको छ।
मे २ सम्मको संक्रमणलाई आधार बनाएर गरिएको अध्ययनका अनुसार, कतिपय मानिसले संक्रमण भएको थाहा नपाएरै ज्यान गुमाएका छन्। कतिपय बिरामी अस्पताल पुगेका छैनन्। कतिपय देशको कमजोर स्वास्थ्य क्षेत्रका कारण अन्य रोग लागेका व्यक्तिले कोरोना संक्रमण भएको थाहै नपाएर ज्यान गुमाएका छन्।
कतिपय देशमा परीक्षण पनि समयमा हुन सकेको छैन। जसले गर्दा उनीहरुको मृत्यु भएको छ। त्यो संख्या सरकारी आकडाँमा समेटिएको छैन।
अध्ययन गरिएका मध्ये २७ देशको तथ्यांक सार्वजनिक गरिएको छ। धेरैजसो देशमा सरकारले सार्वजनिक गरेको भन्दा मृतकको संख्या बढी देखिएको छ।
बेलायतमा मे २ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार आठ सय चार पुगेको छ। अध्ययनले थप १२ हजार सात सय २९ जनाको मृत्यु भएको देखाएको छ।
त्यस्तै, इक्वेडरमा मे २ सम्म कोरोनाबाट तीन हजार तीन सय ५८ जनाको मृत्यु भएको तथ्यांक थियो। तर, अध्ययनले थप १६ हजार एक सय सात जनाको मृत्यु भएको देखाएको छ।
फ्रान्समा मे २ सम्म २६ हजार तीन सय ८० जनाको मृत्यु भएको थियो। थप एक हजार नौ सय ८९ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ।
जर्मनीमा भने मृतकको संख्या सरकारी आँकडा अनुसार नै देखिएकोे छ। मे २ सम्म सात हजार सात सय नौ जनाको मृत्यु भएको थियो। अध्ययनले पनि त्यहि संख्यामा मृत्यु भएको देखाएको छ।
इटालीमा भने थप १६ हजार दुई सय ७८ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ। मे २ सम्म इटालीमा २६ हजार चार सय ४४ जनाको मृत्यु भएको सरकारी तथ्यांक थियो।
स्पेनमा पनि सरकारी तथ्यांकभन्दा थुप्रैको मृत्यु भएको जनाएको छ। सरकारी तथ्यांकअनुसार स्पेनमा मे २ सम्म २७ हजार सात सय नौ जनाको मृत्यु भएको थियो। तर, अध्ययनले थप १५ हजार एक सय ५८ जनाको मृत्यु भएको देखाएको छ।
अहिले सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको देखाएको छ। मे २ सम्म अमेरिकामा ७० हजार दुई सय ७७ जनाको मृत्यु भएको थियो। अध्ययनले भने थप २६ हजार नौ सय ८६ जनाको मृत्यु भएको देखाएको छ।
अझ गरिब देशहरुमा यो संख्या धेरै हुने जनाएको छ। जहाँ समयमा परीक्षण र उपचार पाउन मुस्किल हुने गरेको छ। त्यस्ता देशमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै हुने अध्ययनले देखाएको छ।









-1792413548.jpeg)

