भक्तपुरमा एक प्रहरीलाई कोरोना, प्रहरीको सञ्चार कक्ष सिल
भक्तपुर, असार ४ : भक्तपुरमा एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्ष स....

भक्तपुर, असार ४ : भक्तपुरमा एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्ष सिल गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्षमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो। ३२ वर्षीय प्रहरी जवान चाँगुनारायण नगरपालिकाका वासिन्दा हुन।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीको सञ्चार कक्ष सिल गरिएको छ। सञ्चार कक्षमा कार्यरत १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले बताए।
उनले भने, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टाइनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ।
उनलाई खोकी लागेपछि जेठ ३१ गते स्वाब सङ्कलन गरी पठाएको थियो। उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको बुधबार रिपोर्ट आएको हो। स्वाब संकलन गरेकाे पाँच दिनपछि रिपाेर्ट आएकाे छ।
ढिलाे गरी रिपाेर्ट आउँदा अन्य प्रहरीलाई पनि काेराेना संक्रमणकाे जाेखिम रहेकाे छ। उनी स्वाब संकलन गरेपछि पनि काम गरिरहेकाे जनाएकाे छ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले बताए।
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।
कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उनले बताए।










-1792413548.jpeg)
