टेस्ट क्रिकेटमा पुनरागमनको पर्खाइमा बेइस्टो
काठमाडौं, असार ३ : विकेटकिपर ब्याट्सम्यान जोनी बेइस्टो आगमी महिना हुने वेस्टइन्डिजविरुद्धको सिरिजमार्फत टेस्ट क्रिकेटमा पुनरागमनको पर्खाइमा छन्। जुलाई....

काठमाडौं, असार ३ : विकेटकिपर ब्याट्सम्यान जोनी बेइस्टो आगमी महिना हुने वेस्टइन्डिजविरुद्धको सिरिजमार्फत टेस्ट क्रिकेटमा पुनरागमनको पर्खाइमा छन्। जुलाईबाट साउथ ह्याम्पटनमा सुरु हुने सिरिजमार्फत इंग्लिस टिममा पुनरागमन गर्नेमा आफू विश्वस्त रहेको वेइस्टोले बताएका छन्।
३० वर्षीय बेइस्टो अघिल्लो दक्षिण अफ्रिकाविरुद्धको खेलपछि इंग्ल्यान्डको टेस्ट टिमबाट बाहिर रहँदै आएका छन्। बेइस्टो दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा एक खेलमा मात्र व्याट्सम्यानका रुपमा मौका पाएका थिए। सो खेलमा उनले १ र ९ रन मात्र बनाउन सकेका थिए। त्यसलगत्तै भएको न्युजिल्यान्ड भ्रमणमा वेइस्टो टिममा पर्न असफल भएका थिए।
इंग्ल्यान्डको टेस्ट टिममा अहिले विकेटकिपरका लागि कडा प्रतिस्पर्धा छ। जोस बट्लर अहिले टेस्ट टिमका पहिलो रोजाइका विकेटकिपर हुन्। बट्लरले उत्कृष्ट प्रदर्शन गरिरहेकाले विकेटकिपरका रुपमा भने वेइस्टोलाई इंग्लिस टिममा स्थान बनाउन निकै कठिन छ।
इएसपिएनक्रिकइन्फोसँग कुरा गर्दै बेइस्टोले भने, ‘अहिले म आफ्नो विकेटकिपिङबाट एकदमै खुसी छु। यो मेरो खेलजीवनको यस्तो हिस्सा थियो, जसलाई लिएर सुरुमा मानिसहरुले प्रश्न उठाएका थिए। पछिल्लो दुई वर्षमा मानिसहरुले यसविषयमा कुरा गर्न छाडेका छन्।’
वेइस्टोले अहिले आफ्नो विकेटकिपिङ राम्रो भएका इंग्लिस टिममा विकेटकिपरका रुपमा पुनरागमन नहुने कुनै कारण नभएको बताएका छन्। उनले भनेका छन्, ‘मलाई यस्तो लाग्छ कि मैले विकेट किपिङमा कुनै गल्ती गरेको छैन। मासिनहरुले पनि मेरो विकेट किपिङको प्रसंशा गरेका छन्।’
एकदिवसीय र टि–२०मा उत्कृष्ट ब्याटिङक गरिरहेका बेइस्टो टेस्टमा भने ब्याटिङमा पनि जम्न सकेका छैनन्। पछिल्लो १८ टेस्टमा उनले केवल १ शतक मात्र बनाएका छन्। उनले सन् २०१८ अगस्त यता १४ टेस्टमा १९.१५ को औसतमा मात्र रन बनाएका छन्।
आफ्नो ब्याटिङका बारेमा कुरा गर्दै बेइस्टोले भने, ‘अहिले जुन तरिकाले ब्याटिङ गरिरहेको छु, त्यसमा खुसी छु । मैले मेसिनको बलिङमा पनि अभ्यास गरिरहेको छु। त्यसलाई ब्याटिङको केही टेक्निकमा परिवर्तन सहज भयो।’
बेइस्टोले इंग्ल्यान्डाका लागि ७० टेस्ट, ७७ एकदिवसीय र ३७ टि–२० म्याच खेलेका छन्। जसमा उनले टेस्टमा ६ शतक र २१ अर्धशतकसहित चार हजरा ३० रन बनाएका छन् भने एकदिवसीयमा ९ शतक र ११ अर्धशतक मद्दतमा दुई हजार नौ सय २३ रन बनाएका छन्। यस्तै, उनले टि–२०मा चार अर्धशतकसहित सात सय २५ रन बनाएका छन्।











