पाकिस्तानमा कोरोना संक्रमित १२ लाख पुग्ने प्रक्षेपण
काठमाडौं, असार १ : पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख पुग्ने प्रक्षेपण गरिएको छ।
पाकिस्तानका योजनामन्त्री असद उमरले जुलाईको अ....

काठमाडौं, असार १ : पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख पुग्ने प्रक्षेपण गरिएको छ।
पाकिस्तानका योजनामन्त्री असद उमरले जुलाईको अन्त्यसम्म १२ लाख पुग्ने अध्ययनले देखाएको बताएका हुन्। उनले भनेका छन्, अहिलेको गतिमा बढ्दै गएमा जुलाईको अन्त्यसम्म करब १२ लाख कोरोना संक्रमित पुग्ने अध्ययनले देखाएको छ।
अहिले पाकिस्तानमा एक लाख ४४ हजार चार सय ७८ जनामा कोरोना देखिएको छ। जुनको मध्यसम्म यो संख्या दोब्बर हुने अनुमान गरिएको छ।
गत २४ घन्टामा पाकिस्तानमा ६ हजार आठ सय २४ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो।
त्यस्तै, राजधानी इस्लामावादमा मात्रै सात सय ७१ जनामा कोरोना देखिएको छ। अहिलेसम्म पाकिस्तानमा कोरोनाबाट दुई हजार सात सय २९ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा २५ प्रतिशतभन्दा बढी गरिबीको रेखामूनि रहेका छन्। उनीहरुले भोकै बस्नुपर्ने अवस्था रहेकाले लकडाउनमा कडाइ नगरिएको प्रधानमन्त्री इम्रान खानले बताएका छन्।
त्यसैले कोरोनाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ। योजनामन्त्री असरले सार्वजनिक ठाउँमा मास्क लगाउन, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्न र दूरी कायम राख्न आग्रह गरेका छन्।
पाकिस्तानमा परीक्षणलाई पनि तीव्र पारिएको छ। अहिलेसम्म आठ लाख ६८ हजार पाँच सय ६५ जनाको परीक्षण गरिएको छ। गत २४ घन्टामा मात्रै २९ हजार पाँच सय ४६ जनाको परीक्षण गरिएको छ।











