दुई महिनामा ४५ सय बढीलाई महानगरकाे निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं, जेठ ३२ : काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निःशुल्क....

काठमाडौं, जेठ ३२ : काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निःशुल्क सेवा प्रदान गरेको छ।
हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउन अवधिभरमा एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीहरुलाई २४ सै घण्टा आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिए। ‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौं,’ प्रमुख शाक्यले भने।
साथै महानगरले शुरु गरेको ११८० हटलाइनमा लकडाउन अवधीभर ६ हजार बढीले सम्पर्क गरेका थिए। एम्बुलेन्सको सेवा लिनको लागि महानगरले उक्त हटलाइन सञ्चालन गरेको थियो।
महानगरपालिकाले मुख्य गरेर डाइलाइसिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। चक्रपथ बाहिर दुई किलोमिटर परसम्मका बिरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उनको भनाई छ।
वैशाख १ बाट एक महिनाका संस्थासँग सम्झैता गरेपन लकडाउन लम्बिएसँगै पुन एक महिनाको लाथि समय थप गरिएको हो। महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको बताए। ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उनले भने, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत मध्यनजर गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि स्थगन गरेका हौं।’











