भारत–पाकिस्तान तनावबीच मोदीको पुनर्जागरण
नयाँ दिल्ली – एक महिना अघिसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवस्था नाजुक थियो । दोश्रो कार्यकालका लागि निर्वाचन लडिरहेका मोदीका लागि प्र....

नयाँ दिल्ली – एक महिना अघिसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवस्था नाजुक थियो । दोश्रो कार्यकालका लागि निर्वाचन लडिरहेका मोदीका लागि प्रतिकूल माहौल थियो।
आर्थिक वृद्धि ओरालो लागेको थियो । हजारौं कृषकले राजधानीमा जुलुस निकालिरहेका थिए । सयौं लिटर दूध सडकमै पोखिरहेका थिए । बेरोजगारी ४५ वर्ष यताकै उच्च थियो । मोदी सरकार लाजमर्दाे स्थितिमा थियो।
हालै सम्पन्न राज्यसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टीले नमीठो हार बेहोर्याे । अप्रिल ११ मा निर्वाचन गर्ने तय भयो । चुनावको ‘सरगर्मी’सँगै तङ्ग्रिएको विपक्षी दल कंग्रेसले एकपछि अर्काे मुक्का मोदीलाई प्रहार गरिरहेको थियो।
तर काश्मिरको बम घटना र त्यसपछिका सातामा पाकिस्तानसँग झण्डै–झण्डै भएको युद्धले मोदीको सातो फर्कायो ।
फेब्रुअरी १४ मा एक युवाले आत्मघाती बम विस्फोट गरे । विस्फोटमा परी ४० जनाभन्दा धेरै सैनिकले ज्यान गुमाए । पाकिस्तानमा सञ्चालित र संयुक्त राज्य अमेरिकाले आतंककारीको सूचीमा राखेको जैस–ए–मोहम्मदले बम आक्रमणको जिम्मा लियो।
प्रतिक्रिया स्वरूप मोदीले दोष जति पाकिस्तानलाई थोपरे । पाकिस्तानविरूद्ध हवाई आक्रमण गर्ने निर्देशन दिए । पाकिस्तानले पनि जवाफी हमला गर्यो । यसअघि, आणविक शक्ति राष्ट्रहरूले कहिल्यै पनि एकअर्कालाई बम प्रहार गरेका थिएनन् । यसैले, यसपटकको भारत–पाकिस्तान तनाव निकै नाजुक मोडमा पुगेको धारणा विज्ञहरूको थियो ।
बाहिर, राजनीतिक लाभका लागि मोदीले युद्धसम्मको मौका छोप्न सक्ने भन्दै आलोचना भयो । पाकिस्तानी भूमिमा भारतीय पाइलट पक्राउ परेपछि मोदीको दुस्साहसले प्रतिकूल परिणाम ल्याएको केही अन्तर्राष्ट्रिय विश्लेषण पनि आए । पाकिस्तानले पनि आफ्नो छवि सुधार्ने मौका छोप्यो र ती पाइलटलाई तामझामका साथ भारत घर फर्कायो।
तर भारतमा अझ धेरै खेलोफड्को भइरहेको छ।
भारतीयहरू मोदीसँग झुम्मिन थालेको राजनीतिक विश्लेषकहरू बताउँछन् । स्वतन्त्र रहेका र कसलाई मत दिने भनेर निर्णय नगरेका मतदातालाई मोदीले पोल्टामा पार्न थालेको उनीहरूको विश्लेषण छ।
भारतको हवाई आक्रमणले लक्ष्य भेद्न नसकेको र एउटा लडाकू विमान पाकिस्तानले हानी झारेको तथ्यले अधिकांश भारतीयलाई खासै फरक परेजस्तो लाग्दैन । देशमा आक्रमण भयो र मोदीले प्रत्याक्रमण गरे – उनीहरूले यत्ति बुझेका छन्।
‘पानीमुनि लुके पनि म उनीहरूलाई छोड्ने छैन,’ आतंककारीलाई लक्षित गर्दै मोदीले जोरदार भाषण गरे । ‘बदला लिनु मेरो बानी हो ।’
मोदीका केही समर्थक यस्तो आक्रामक कदमले भोट नतान्ने विश्वास गर्छन् । यसले उनको पुरानो ‘प्यासन’ र ‘फोकस’ प्रतिबिम्बित गरेको उनीहरूको ठम्याइ छ।
‘अर्थतन्त्र र रोजगारलाई लिएर उनको जे–जति आलोचना भए पनि, शहीदलाई न्याय दिलाउन उनले अविश्वसनीय काम गरेका छन्,’ कानूनकी विद्यार्थी तथा पहिलो पटककी मतदाता प्राप्ती भट्टाचार्य बताउँछिन्।
‘पहिले म कांग्रेसलाई भोट दिन्थेँ होला,’ उनी भन्छिन्, ‘तर अब मेरो भोट मोदीलाई ।’
मिलन वैष्णव पाकिस्तान संकटले ‘मोदीलाई स्वर्ण भाष्य दिलाएको’ बताउँछन् । वैष्णव कार्निज इन्डाउमेन्ट फर इन्टरनेसनल पिसको दक्षिण एसियाली कार्यक्रमका निर्देशक हुन्।
‘राष्ट्रिय संकटको विशेषता के हो भने यसले निर्णय गर्ने सीप, नेतृत्व र राष्ट्रियतामा ठूलो भूमिका खेल्दछ । यी तीन विशेषतामा उनी बारम्बार दाउ लगाउँछन् ।’
तथापि, अबको केही सातासम्म घटनाले अर्कै मोड लिनसक्छ ।
भारतमा संसदीय प्रणाली छ । मोदी फेरि सत्तामा फर्किन भारतीय जनता पार्टीले तल्लो सदनको पाँच सय ४३ सिटमा बहुमत जित हात पार्नुपर्छ । नभए क्षेत्रीय दलहरूसँग गठबन्धन बनाउनुपर्छ । स्वतन्त्रताको ७१ वर्षमध्ये करिब आधा शताब्दी सरकार र सत्तामा रहेको भारतीय कंग्रेस पार्टीको अवस्था पनि ठ्याक्कै यस्तै छ ।
कंग्रेस नेता राहुल गान्धी घरेलु मुद्दालाई चुनावमा चर्काउने दाउमा छन्।
अर्थतन्त्र मोदीको सबैभन्दा कमजोर पक्ष हो । पछिल्लो चौमासिकमा देशको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि भए पनि, यो पाँच वर्षयताकै सुस्त आर्थिक वृद्धि दर थियो । तथापि अधिकांश विकसित राष्ट्रभन्दा भारतको आर्थिक वृद्धि निकै तीव्र रह्यो।
एक अर्ब ३० करोड जनसंख्या र सुध्रिदों शिक्षासँगै, भारतले प्रत्येक महिना झण्डै पाँच लाख नयाँ जनशक्ति बजारमा उत्पादन गर्दछ । एउटा नेताका लागि यो विशाल जिम्मेवारी हो । त्यसमाथि एक करोड रोजगार सिर्जना गर्ने वाचा गरेर मोदीले अपेक्षा अझ बढाए । अधिकांश मानक अनुसार अत्यन्तै महत्वाकांक्षी लक्ष्य पूरा गर्न मोदी असफल भएको छर्लङ्ग छ।
श्रमशक्तिको सहभागीता दर
पोहोर सालको तुलनामा भारतको मासिक श्रमशक्ति सहभागिता दर निरन्तर ओरालो लागेको छ ।
‘हामीले रोजगार सिर्जना गरेका छैनौं–खासमा हामीले रोजगार गुमाएका छौं,’ सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीका कार्यकारी प्रमुख महेश ब्यासले बताए।
उनले बताए अनुसार भारतमा हाल ४० करोड रोजगार छन् । पछिल्ला तीन वर्षको तुनलामा यो केही कम हो ।
दलितको असन्तुष्टि मोदीको अर्काे समस्या हो । हजारौं वर्षदेखि चलिआएको भारतको जातीय व्यवस्थाले अझै पनि, विशेषगरी ग्रामिण क्षेत्रको जीवनमा वर्चस्व जमाएको छ । यो व्यवस्था अनुसार दलित सबैभन्दा तल र ब्राह्मण सबैभन्दा माथि छन् भने बीचमा थुप्रै जातीय समूह छन्।
तल्लो जात भनिएकाहरू अझै पनि त्रासदिपूर्ण दुव्र्यवहारको शिकार भइरहेका छन् । मोदी तथा कथित माथिल्लो जातको पक्षपोषण गर्ने र भारतको हिन्दूत्वलाई जोड दिने हिन्दू राष्ट्रवादले जरा गाडेको भाजपालाई झण्डै दश करोड मतदाता रहेको दलित समुदायले लामो समयदेखि विश्वास गरेका छैन।
तर सन् २०१४ मा भएको अन्तिम निर्वाचनमा मोदीले ‘विपन्नता’को कार्ड खेले । तल्लो जातको ‘चायवाला’ को सन्तान पनि सत्तामा पुग्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरे । विश्लेषकहरूले २४ प्रतिशत दलितले भारतीय जनता पार्टीलाई भोट दिएको बताउँछन् । अघिल्लो निर्वाचनको तुलनामा यो दोब्बर बढी हो।
तर यो पटक भने भिन्न नतिजा आउनसक्छ।
मोदीको शासनकालमै दलित र मुस्लिम समुदायबीच ‘नफरत÷घृणाको अपराध’ चर्किएको छ । मुस्लिम समुदाय भारतको उल्लेखनीय अल्पसंख्यक ‘भोट बैंक’ हो । घोडा चढेको वा गाईको छाला काढेको भन्दै दलितको हत्या भएको छ।
मोदी आफैंले दलितबारे उपेक्षाको प्रतिक्रिया दिएका छैनन् । तर यस्तो घृणित हिंसा भड्किँदा, आवाज पनि उठाएनन् । हिन्दू धर्ममा पवित्र मानिने गाईको सुरक्षाको सवाल होस् वा मुस्लिम वा ‘तल्लो जातका कसाइँ’ लक्षित भिजिलान्तेको पक्ष लिने सवाल – मन्त्रीगण लगायत भाजपाका धेरै पदाधिकारीहरूले ‘कथित’ अतिवादी अडान लिएका छन्।
धेरै रूढिवादी हिन्दूले मोदीलाई हिन्दु धर्मको मूल्यमान्यताको रक्षक माने पनि, कतिपय दलित र मुस्लिम आफ्नै सरकारदेखि त्रस्त छ । ‘सबका साथ, सबका विकास’ को एकोहोरो रटान लगाउँदै भारतलाई ऐक्यबद्ध गर्ने मोदी प्रतिबद्धताका बावजुद, सत्ताको बागडोर सम्हालेपछि भारतमा जात र धर्मको नाममा तीव्र र कठोर ध्रुवीकरण भएको धेरै पर्यवेक्षकको कथन छ।
पाकिस्तान विरूद्ध गरिएको कारबाहीका कारण कमै दलितको मन परिवर्तन हुने लोकप्रिय राजनीतिक विश्लेषक तथा दलित चन्द्रभान प्रसाद बताउँछन्।
‘उनले दलित मत पूर्ण रूपमा गुमाएका छन्,’ प्रसाद भन्छन्, ‘दलितले फेरि पनि भाजपालाई हराउने जुनसुकै पार्टीलाई मतदान गर्नेछन् ।’
यसमा थोरैमात्र सत्यता भए पनि, मोदीले लाखौं मत गुमाउनेछन्।
कृषक मोदीको अर्काे चिन्ताको विषय हो । तर यहाँ पाकिस्तानविरूद्धको कारबाहीले नतिजा ल्याउन सक्छ।
झण्डै २६ करोड मतशक्ति बोक्ने कृषक समूह भारतको एउटा विशाल मत समूह हो । तर तीमध्ये धेरै मोदीसँग रिसाएका छन्।
कृषकले नाफा कमाउने जति उत्पादनको मूल्य बढाउने मोदीले वाचा गरेका थिए । निर्यात नियन्त्रण र अति–उत्पादनले प्याज र आलुजस्ता बालीको मूल्य चर्काएको छ।
दशौं हजार कृषकले सहरमा जुलुस निकाले । सडकमा दूध पोखे । तरकारी फ्याँके । एक कृषकले त सवा सात सय किलो प्याज बेचेर कमाएको करिब एक हजार पचास भारतीय रूपैयाँ मोदीलाई नै पठाइदिए।
तर पाकिस्तान संकटपछि कृषि सम्बन्धी संवादमा धेरै परिवर्तन भएको कृषक तथा महाराष्ट्रको कृषक संगठनका नेता विजय जवान्धियाले बताए।
‘कृषकहरूले उनमा निर्णय गर्न सक्ने क्षमता धेरै भएको बताएका छन्,’ उनले भने।
नयाँ दिल्ली नजिकैको अशोका विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक जिल भेर्नियरले बताए अनुसार निर्वाचनसम्म भारतका ९० करोड मतदातामध्ये ४० प्रतिशत ‘अनिर्णयको बन्दी’ हुने गरेका छन् । एउटा पार्टी रोज्ने र त्यसैमा अडिरहने अमेरिकी राजनीति विपरीत, भारतका धेरै मतदाता उम्मेदवार र मुद्दाको आधारमा प्रमुख दल फेरबदल गरिरहन्छन् । व्यक्तिवादी राजनीति हावी छ।
मोदीले सामना गरिरहेको समस्यामा पाकिस्तान संकटले केही राहत दिएको भेर्नियरले बताए ।
काश्मिर आक्रमणअघि, कंग्रेस पार्टीका नेता तथा राजनीतिक विरासतका उत्तराधिकारी गान्धीले आमजनतामाझ नयाँ र ताजा लोकप्रियता हासिल गरे । मोदी सरकारले फ्रान्ससँग गरेको लडाकू विमानबारे उनले आक्रामक भाषणबाजी गरिरहेका थिए । बहिनी प्रियंका गान्धीलाई पनि सामेल गराएपछि उनको अभियानले थप उर्जा पायो।
कंग्रेस र भाजपा दुवैले गठबन्धनको सरकार गठन गर्ने आशामा क्षेत्रीय दलसँग साँठगाँठ गर्ने गरेका छन् । कम्युनिष्ट र ‘तल्लो जात’ को वर्चस्व रहेको दललगायत सबैभन्दा ठूला वामपन्थी दलले कंग्रेसलाई साथ दिने सम्भावना छ । यता सबैभन्दा धेरै जनसंख्या भएको दुई राज्य – पञ्जाब र महाराष्ट्र मोदीको पक्षमा उभिएका छन्।
हाललाई सबै मोदीको पक्षमा देखिएको ब्राउन विश्वविद्यालयमा सेन्टर फर कन्टेम्पोररी साउथ एसियाका निर्देशक आशुतोष वष्णे बताउँछन्।
‘तर मेरो विचारमा भाष्य परिवर्तन हुनसक्छ,’ उनी भन्छन्,‘मोदी विरूद्ध अझै पनि ठूलो आक्रोश यथावत छ ।’

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
