हाँगाले लागेर मोटरसाइकलमा सवार बालिकाको मृत्यु
कञ्चनपुर, जेठ ३१ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय कृषि सडक छेउको रुखको हाँगा ....

कञ्चनपुर, जेठ ३१ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से ६ प ३३८९ नं.को मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।
दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरत धामीले बताए।
उनका अनुसार सडक छेउको रुखमा सहकारीले रुखको हाँगा छिनाल्दा हाँगा खसेर मोटरसाइकलमा परेको थियो। रुखको हाँगाले लागेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते उनका बुबाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको इन्स्पेक्टर धामीले बताए।
प्रहरीले रुखको हाँगा काट्ने स्थानीय प्रकाश चौधरी र हाँगा काट्न लगाउने ग्वासी विद्युत् सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ।











