मृत्यु भएपछि बाराका पाँच वर्षीय बालकमा कोरोना पुष्टि
वीरगञ्ज, जेठ ३१ : बाराको निजगढ नगरपालिक–६ योजनाटोलका पाँच वर्षीय बालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको मृत्यु भएपछि कोरोना पुष्टि भ....

वीरगञ्ज, जेठ ३१ : बाराको निजगढ नगरपालिक–६ योजनाटोलका पाँच वर्षीय बालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो।
वीरगञ्ज हेल्थ केयर हस्पिटलमा शुक्रबार उपचारका क्रममा बालकको मृत्यु भको थियो। आज आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा.उदयनारायण सिंहले बताए।
'शुक्रबार अपराह्न कोरोना परीक्षणका लागि स्वाबको नमुना निकालिएको थियो। परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ,' डा.सिंहले काठमाडौं प्रेससँग भने। उनको नारायणी अस्थायी कोभिड अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।
बिरामी बालकलाई शुक्रबार बिहान ११ बजे वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। आकस्मिक कक्षमा भर्ना गरिएका बालकको आरडीटी बिधिबाट कोरोना परीक्षण गरिएको थियो। आरडीटी पोजिटिभ देखिएको हेल्थ केयरका सञ्चालक डा.अबुल हैस अन्ुसारीले बताए।
त्यसपछि उनलाई आइसोलेसनमा वार्डमा राखेर उपचार गर्न थालिएको अस्पतालले जनाएको छ। त्यहिँबाट नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरेको थियो।
बालकको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शुक्रबार अपराह्न २ बजेट भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममै अपराह्न ४ बजे मृत्यु भएको डा.अन्सारीले जानकारी दिए।
बालकका आमाबुवाले अस्पताल ल्याएका थिए। अब उनको सम्पर्कमा आएका सबैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











