भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौं : मन्त्री अर्याल
काठमाडौं, जेठ ३० : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहित....

काठमाडौं, जेठ ३० : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालीमको आज समापन सत्रमा उनले सरकारले तथ्य र प्रमाणका आधारमा नक्सा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पारिन्।
कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौं भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताइन्। कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्वपूर्ण रहेको उल्लेख गरिन्।
हालको विषम परिस्थितिमा समेत इन्टरनेट साक्षरताले बढावा आएको बताउँदै उनले अध्ययन÷अध्यापनमा सबैलाई जोड्न सकिने माध्यमको खोजीका लागि सरकारले शिक्षा मन्त्रालयमार्फत योजना बनाउने जानकारी दिइन्।











