सौराहाका होटल क्वारेन्टाइन बनाउन तयार
चितवन, जेठ ३० : सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टाइनको लागि २९ वटा होटल दिन तयार भएका छन्। ती होटलमा ५०० जना अट्ने जनाइएको छ।
....
चितवन, जेठ ३० : सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टाइनको लागि २९ वटा होटल दिन तयार भएका छन्। ती होटलमा ५०० जना अट्ने जनाइएको छ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइसकिएको छ। सूचीमा प्रतिव्यक्ति दुई हजारदेखि तीन हजार रुपैयाँसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए।
'पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौं।' सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन्।
यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टाइनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र होटल व्यवसायी संघले नौ÷नौवटा होटल क्वारेन्टाइनमा दिनका लागि तयार भएको जनाएका छन्।
यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टिनका रुपमा प्रयोगमा आइसकेको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताए। हालसम्म होटलको माग नभएको भन्दै उनले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताए। हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसिरहेका छन्।











