जर्ज फ्लोयडको हत्या वास्तविक परिवर्तनको टर्निङ प्वाइन्ट ?
जर्ज फ्लोयडको हत्या र असमान न्यायले निरन्तर निम्त्याएको समस्याविरूद्ध लाखौं आवाज सडकमा गुञ्जिरहेको छ।
यही बेला वास्तविक परिवर्तन ल्याउन यो गतिलाई कसरी निरन्त....

जर्ज फ्लोयडको हत्या र असमान न्यायले निरन्तर निम्त्याएको समस्याविरूद्ध लाखौं आवाज सडकमा गुञ्जिरहेको छ।
यही बेला वास्तविक परिवर्तन ल्याउन यो गतिलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर धेरैले सोधेका छन्। अन्ततोगत्वा बदलिँदो समय अनुकूल रणनीति बनाउने जिम्मा नयाँ पुस्ताकै अभियन्ताको हुनेछ। तर अतितका प्रयासबाट हामीले केही आधारभूत तर स्मरणीय पाठ सिकेका छौं। यो मेरो विश्वास हो।
पहिलो अमेरिकाभरि प्रदर्शनको लहर चलेको छ। प्रहरीको अभ्यास र वृहत्तर आपराधिक न्याय प्रणालीमा दशकौंदेखि सुधार गर्न सकिरहेका छैनौं। विरोध प्रदर्शनको यो लहरले त्यो असफलताविरूद्ध वास्तविक र जायज निराशा प्रतिनिधित्व गर्दछ। बहुसंख्यक सहभागी शान्त, बहादुर, जिम्मेवार र उत्प्रेरक रहे। उनीहरू सम्मान र सहयोगका पात्र हुन्। क्याम्डेन र फ्लिन्टजस्ता शहरका प्रहरीले यसलाई बुझेका छन्। यो प्रशंसनीय छ।
अर्कोतिर केही व्यक्तिहरू हिंसात्मक भए। वास्तविक आक्रोश हो वा मौका छोपेका हुन् उनीहरूले निर्दोष व्यक्तिलाई जोखिममा पारेका छन्। पहिलेदेखि नै सेवा र लगानीको अभाव खड्किएको समुदायमा विध्वंस बढाइरहेका छन्। मूल उद्देश्यबाट भड्काइरहेका छन्। छिमेकमा भएको एकमात्र किराना पसल तोडफोड भएपछि रूँदै गरेकी वृद्ध अश्वेत महिलाको अन्तर्वार्ता पनि हेर्दा दु:ख लाग्यो।
इतिहास सही हो भने, त्यो पसल फेरि ठडिनलाई वर्षौं लाग्नेछ। त्यसैले हिंसाको बहाना नबनाऔं। यसलाई सही नथापौं। हिंसामा सहभागी नहोऔं। यदि हाम्रो न्याय प्रणाली र वृहत्तर अमेरिकी समाज उच्च नैतिक संहितामा चलोस् भन्ने चाहन्छौं भने, हामी आफैँले त्यो संहिता तयार गर्नुपर्छ।
दोस्रो विरोध प्रदर्शन र “डाइरेक्ट एक्सन” ले मात्रै परिवर्तन ल्याउँछ। निर्वाचनको राजनीतिमा मतदान र सहभागी समयको बर्बादी मात्रै हो। हाम्रो न्याय प्रणालीमा दोहोरिरहने जातीय पूर्वाग्रहको समस्याले यहि पुष्टि गर्छ भनेर केहीले प्रतिक्रिया दिएको पनि सुनेको छु। म यसमा सहमत हुन सक्दिनँ। विरोध प्रदर्शनको अर्थ सार्वजनिक चेत बढाउनु हो, अन्यायमाथि प्रकाश पार्नु हो र शक्तिलाई असहज बनाउनु हो।
वास्तवमा अमेरिकी इतिहासभरि विरोध र नागरिक अवज्ञाकै परिणामस्वरूप राजनीतिक प्रणालीले सीमान्तकृत समुदायलाई ध्यान दिएको पाइन्छ। तर अन्तिममा आकांक्षालाई निश्चित कानून र संस्थागत अभ्यासमा रूपान्तरण गर्नुपर्छ। लोकतन्त्रमा यो त्यति बेलामात्रै सम्भव हुन्छ जब हामी हाम्रा मागप्रति उत्तरदायी सरकारी अधिकारी निर्वाचित गर्छौं।
यसबाहेक, सरकारको कुन तहले हाम्रो न्याय प्रणाली र नीति अभ्यासमा सबैभन्दा धेरै प्रभाव पार्छ, त्यो बुझ्न महत्वपूर्ण छ। राजनीतिबारे सोच्दा, धेरैको ध्यान राष्ट्रपति र संघीय सरकारतर्फ आकर्षित हुन्छ। हाम्रो समाजमा जातीवाद/रंगभेदको निरन्तर जारी हानिकारक भूमिका पहिचान गर्ने र त्यसबारे केही गर्न चाहने राष्ट्रपति, कंग्रेस र न्यायिक विभाग भएको सुनिश्चित गर्न हामीले संघर्ष गर्नैपर्छ। तर प्रहरी विभाग र न्याय प्रणाली सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निर्वाचित अधिकारी राज्य र स्थानीय तहमा काम गर्छन्।
मेयर र काउन्टीका कार्यकारीले नै अधिकांश प्रहरी प्रमुख नियुक्त गर्छन्। उनीहरूले नै प्रहरी युनियनसँग सम्झौता गर्छन्। गलत आचरणमा संलग्न प्रहरीको अनुसन्धान र उनीहरूलाई कारवाही गर्ने वा नगर्नेबारे डिस्ट्रिक्ट एटोर्नी र स्टेट एटोर्नीले निर्णय गर्छन्। उनीहरू सबै निर्वाचित अधिकारी हुन्। केही स्थानमा प्रहरीको व्यवहार अनुगमन गर्ने शक्ति भएको पुलिस रिभ्यु बोर्ड पनि निर्वाचित नै हुन्छन्।
दुर्भाग्यवश, यी स्थानीय निर्वाचनमा मतदाताको संख्या भने अत्यन्तै न्यून हुन्छ। त्यसमा पनि युवाको सहभागिता साह्रै थोरै हुन्छ। त्यसैले सामाजिक न्यायका मुद्दामा यी कार्यालयको प्रत्यक्ष भूमिका प्रभावित हुन्छ। केही हजार वा केही सय मतको अन्तरले नै जित र हारको फैसला हुन्छ।
बटमलाइन हामी वास्तविक परिवर्तन ल्याउन चाहन्छौं भने विरोध प्रदर्शन र राजनीतिमध्ये कुनै एक विकल्प हुन सक्दैन। हामीले दुवै रोज्नुपर्छ। सचेतना अभिवृद्धि गर्न हामी परिचालन हुनुपर्छ। सुधारात्मक कार्य गर्ने उम्मेदवार निर्वाचित भएको सुनिश्चित गर्नलाई हामी संगठित हुनुपर्छ र मतदान गर्नुपर्छ।
अन्तत: आपराधिक न्याय र प्रहरी सुधारका लागि हाम्रा मागहरू जति प्रष्ट र निश्चित गर्न सक्छौं, निर्वाचित अधिकारीलाई मुखले ठिक्क पार्न उति नै कठिन हुन्छ। विरोध प्रदर्शन रोकिएपछि फेरि पुरानै शैलीमा फर्किन पाउँदैनन्। भिन्न समुदायका लागि सुधारका एजेन्डाको विषयवस्तु पनि भिन्न हुन्छन्। ठूलो शहरलाई एउटा र ग्रामीण समुदायलाई अर्को सुधार चाहिएको हुनसक्छ। केही निकायलाई होलसेल पुनर्स्थापना आवश्यक हुनसक्छ।
अरूलाई सामान्य सुधार भए पुग्नसक्छ। प्रत्येक कानून नियामक निकायको प्रष्ट नीति हुनुपर्छ। कथित गलत आचरणको अनुसन्धान गर्ने एउटा स्वतन्त्र निकाय पनि आवश्यक हुनसक्छ। प्रत्येक समुदायका लागि विशिष्ट सुधारको स्वरूप तयार गर्न स्थानीय अभियन्ता र संघसंस्थाले अनुसन्धान गर्नुपर्छ। के कस्तो रणनीति प्रभावकारी हुनसक्छ भनेर समुदायका नागरिकलाई शिक्षित बनाउनुपर्छ।
सुरूवातका लागि म ह्वाइट हाउसमा हुँदा टास्क फोर्स अन ट्वेन्टी फर्स्ट सेन्चुरी पुलिसिङको काममा आधारित लिडरसीप कन्फेरेन्स अन सिभिल एन्ड ह्युमन राइट्सले विकास गरेको रिपोर्ट र टुलकिट यहाँ उपलब्ध छ। ठोस काम गर्न इच्छुक हुनुहुन्छ भने हामीले ओबामा फाउण्डेसनमा एउटा साइट बनाएका छौं। स्थानीय र राष्ट्रिय स्तरमा वर्षौंदेखि काम गरिरहेका व्यक्ति र संस्थाका लागि उपयोगी श्रोतसामग्री यहाँ उपलब्ध छ।
बितेका केही महिना निकै कठिन र निराश रहे। महाव्याधिको डर, दु:ख, अनिश्चितता र कठिनाइसँगै अमेरिकी जीवनलाई आकार दिने पूर्वाग्रह अझै बाँकी छन् भन्ने दु:खद घटना पनि घटे। तर पछिल्ला साताहरूमा हरेक जाति र हरेक क्षेत्रका युवाको उच्च सक्रियता देखेर म आशावादी छु।
अघि बढ्दै जाँदा हाम्रो उचित आक्रोशलाई शान्तिपूर्ण, दिगो र प्रभावकारी कार्यमा रूपान्तरण गर्न सक्यौं भने आदर्श जीवन बाँच्ने हाम्रो देशको लामो यात्राको वास्तविक टर्निङ प्वाइन्ट यही क्षण हुनेछ।
अब काममा लागौं।
(मिडियम डट कमबाट नेपाली अनुवाद)












