सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन मेयर शाक्यको आग्रह
काठमाडौं, जेठ २८ : काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ। बन्दाबन्दीको समयमा बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक ....

काठमाडौं, जेठ २८ : काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ। बन्दाबन्दीको समयमा बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजदेखि आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन्। ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौं महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भने, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौं। उनले रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिए।
प्रमुख शाक्यले रेडियो कार्यक्रम शुभारम्भपछि शिक्षा विभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे। ‘पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रकाका संस्थागत र सामुदायिक विद्यालयकाबीचमा अन्तर नहोस्,’ उनले भने, ‘कोभिड–१९ को संक्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण विद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन्। यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला।’
प्रमुख शाक्यले लकडाउनको कारण शिक्षक, विद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उनीहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताए।
महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत निरन्तरता दिँदै आएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताए।
काठमाडौं महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु भएको रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक विद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताए।
सूचना प्रबिधि विभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ.एम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ। विभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि विषय समावेश गरिएका छन्। यसैगरी कक्षा १ को एकीकृत पाठयक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।











