क्वारेन्टाइनमा बसेकालाई औलो, भारतबाट फर्केका व्यक्तिको जाँच गरिने
कञ्चनपुर, जेठ २६ : सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा बसेका केही व्यक्तिमा औलो पनि देखिएको छ। अब भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार....

कञ्चनपुर, जेठ २६ : सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा बसेका केही व्यक्तिमा औलो पनि देखिएको छ। अब भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण गरिने भएको छ।
औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको कोरोना भाइरससँगै औलोको समेत जाँच गरिने भएको हो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन्।
'समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ,' उनले भने। भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको ङ्क्रमण देखिएको उनले बताए।
'आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टाइनमा बसिरहेका व्यक्ति अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ,' डा.अवस्थीले भने।
उनका अनुसार क्वारेन्टाइनमा बसेका डडेल्धुराका एक जनामा अत्यन्त कडा खालको पि फाल्सिपारम औलो र कञ्चनपुरको देखतभूली र लालझाडीमा गरी तीन व्यक्तिमा पि भाइभेक्स औलोको सङ्क्रमण देखिएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले लालझाडीको भानु मावि र देखतभूलीका गरी भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका तीन जनामा औलोको सङ्क्रमण देखा परेको बताए। उनीहरुको तत्कालै परीक्षणपश्चात औषधि निःशुल्करूपमा उपलब्ध गराइएको उनले बताए।
स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडिटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको जनाएको छ। (रासस)











