राजविराजमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण शुरु
सप्तरी, जेठ २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब संकलन शुरु भएको छ। पीसीआर उपकरण आएको १७ दिन....

सप्तरी, जेठ २५ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब संकलन शुरु भएको छ। पीसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पीसीआर मेसिन जडानकार्य गरेपछि स्वाब परीक्षण शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
पहिलोपटक राजविराज नगरपालिका–१ स्थित राजदेवी माविको क्वारेन्टाइनमा रहेका २२ जनाको स्वाब परीक्षण गरिएको छ। संकलित स्वाब परीक्षणको प्रक्रियामा राखिएकाले आजै रिपोर्ट आउने उनले जानकारी दिए।
यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण हुने गरेको थियो। धरानबाट स्वाबको रिपोर्ट आउन पाँच दिनदेखि सात दिनसम्म लाग्ने गरेकामा राजविराजमै परीक्षण कार्य शुरु भएपछि सहज हुने भएको छ।
डा दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगीसमेत गरी १० जनशक्ति परिचालित भएका छन्। अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमा जडान गरिएको मेसिनमा एकपटकमा ९६ क्यासेट लाग्ने छ। एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको नमूना परीक्षण गर्दै क्रमशः बढाइँदै लगिने अस्पतालले जनाएको छ।
सप्तरीमा भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, बिहारलगायतबाट आएका एक हजार ८०२ जनालाई हाल सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
यसअघि धरान र विराटनगर पठाइएको ३७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी छ। सप्तरीका संक्रमित ७७ मध्ये ७६ राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा राखिएको छ। एक संक्रमित डिस्चार्ज भइसकेका छन्।











