अनलाइन दुर्व्यवहारविरूद्ध लड्ने १० तरिका
अनलाइन संसार गजब छ। अर्कै महादेशको सुदूर देशमा बसेका व्यक्तिसँग छिनमै अन्तर्क्रिया गर्न सकिन्छ। त्यहाँको ताजा खबर छिनमै पाइन्छ।
सञ्चो बिसञ्चोको खबरबाहेक सरसह....
अनलाइन संसार गजब छ। अर्कै महादेशको सुदूर देशमा बसेका व्यक्तिसँग छिनमै अन्तर्क्रिया गर्न सकिन्छ। त्यहाँको ताजा खबर छिनमै पाइन्छ।
सञ्चो बिसञ्चोको खबरबाहेक सरसहयोग, लेनदेन, बैठक, सम्मेलन सबै सबै सम्भव छ। जाने फाइदा धेरै छ। उत्तिकै धेरै छ अप्ठयारा र अँध्यारा पाटाहरू।
व्यक्तिको चरित्रहत्या सजिलै हुन्छ। झूठा खबर फैलाए पुग्छ। कसैको मानमर्दन, हुलहुज्जत सजिलै गर्न सकिन्छ। व्यक्तिगत प्रतिष्ठा, पहिचान, पेशा, परिवार सबै सबै त्यस्ता गलत उद्देश्यको शिकार बन्न कति पनि समय लाग्दैन। यसबाट व्यक्ति, समुदाय र देश सबै सचेत रहनुपर्छ।
विशेषगरी महिला, बालिका र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सुरक्षा चुनौतीको विषय बनेको छ। सीमान्तकृत, अल्पसंख्यक र पछाडि पारिएको समुदायमा यसको जोखिम अझ धेरै छ। तर अनलाइन वा इन्टरनेट माध्यमबाट हुने दुर्व्यवहार वा आक्रमणको प्रतिक्रिया कसरी दिने धेरै कमलाई थाहा छ। कतिपयले ज्यान गुमाउँछन्। कसैको जीवन सिर्जनात्मक र उत्पादनमूलक बाटोबाट अन्यत्रै मोडिन्छ।
उसो भए कसैको शारीरिक, मानसिक वा सामाजिक अवस्थाकै आधारमा, व्यक्तिको लिङ्ग, विचार, जात वा धर्मकै आधारमा दुर्व्यवहार भए के गर्ने त? गर्न सकिने केही टिप्स तल उल्लेख गरिएका छन्।
१. तपाईंको कुनै गल्ती छैन। एक्लो पनि हुनुहुन्न।
तपाईं विरूद्ध भइरहेको आक्रमणमा तपाईंको कुनै दोष छैन। तपाईंले आफूलाई अनलाइन माध्यममा अभिव्यक्त गर्न पाउनुहुन्छ। आफ्नो विचार प्रष्ट्याउन सक्नुहुन्छ। कुनै घटनामा परेकैले/प्रभावित व्यक्ति भएकैले तपाईंको मानमर्दन र बेइज्जती गर्नु गलत हो। तपाईंजस्तै अरू व्यक्तिले पनि यो चुनौती सामना गरेका हुन्छन्/छन्। त्यसैले आत्मविश्वास बलियो बनाउनुहोस्। आफूजस्तै अन्य व्यक्तिसँग सम्पर्क बढाउनुहोस्। चुनौती सामना गर्न आँट र साथ बढ्नेछ।
२. कस्तो दुर्व्यवहार/हिंसा भइरहेको छ, पहिचान गर्ने
अनलाइन दुर्व्यवहार विभिन्न प्रकारका हुन्छन्। अकाउण्ट ह्याक भएको हो कि? तपाईंको मञ्जुरी नलिई कसैले तपाईंको फोटो शेयर गरेको हो कि? ट्रोलिङ भएको हो कि? सबै अनलाइन दुर्व्यवहार/हिंसा उस्तै देखिदैंन। त्यसैले आफू कस्तो प्रकारको अनलाइन दुर्व्यवहार/हिंसामा परेको हो, त्यसको जानकारी राख्नुहोस्। पहिचान गर्नुहोस्।
३. सम्बन्धित प्रमाण संकलन गर्ने (स्क्रिनसट, स्क्रिन रेकर्डिङ)
भएको दुर्व्यवहारको अभिलेख/प्रमाण राख्नुहोस्। स्क्रिनसट वा स्क्रिन रेकर्डिङ बलियो प्रमाण हो। यस्तो गर्ने मानसिक अवस्थामा नभए, विश्वासिलो व्यक्ति वा साथीभाइको सहयोग लिन सकिन्छ। प्रहरीमा उजुरी दिदाँ वा दुर्व्यवहार गर्ने व्यक्तिलाई सार्वजनिक गर्न यस्ता प्रमाण निकै उपयोगी हुन्छन्।
४. साथी सहयोगीको सहयोग लिने
अप्ठ्यारो परेको बेला परिवार र साथीभाइको साथ निकै महत्त्वपूर्ण हुन्छ। तपाईंलाई माया गर्ने र साथ दिने साथीभाइको सहयोग लिनुहोस्। उनीहरूलाई आफूले भोग्नुपरेको दुर्व्यवहार/हिंसाबारे बताउनुहोस्। त्यसैगरी सहयोगको खाँचोमा रहेका साथीभाइलाई पनि उत्तिकै साथ दिनुहोस्। तपाईंलाई साथ दिने र सहयोग गर्ने व्यक्ति र समूहले भावनात्मक रूपमा बलियो हुन सहयोग पुर्याउँछन्। तपाईं तयार भए प्रहरी लगायत सम्बन्धित निकायमा उजुरी दिन वा दुर्व्यवहार गर्ने व्यक्तिलाई सार्वजनिक गर्न पनि उनीहरूले सहयोग गर्न सक्छन्।
५. रिपोर्ट, ब्लक, म्युट
दुर्व्यवहार वा अनलाइनमार्फत् आक्रमण गर्ने व्यक्तिलाई ब्लक वा म्युट गर्ने एउटा विकल्प हो। फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायत जुन माध्यमबाट त्यस्तो दुर्व्यवहार वा आक्रमण गरिएको हो, त्यही माध्यममा पनि उजुरी (रिपोर्ट) दिन सकिन्छ। त्यस्ता माध्यमबाट आफ्नो फोटो, भिडियो वा कमेन्ट हटाउन सकिन्छ।
६. पासवर्ड फेर्ने
अंक, अक्षर र चिन्ह (@,#,$,!) भएको पासवर्ड बलियो मानिन्छ। समय समयमा पासवर्ड फेर्नुहोस्। आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको प्राइभेसी र सेटिङ पनि गोपनियता सुरक्षित राख्न प्रयोग गर्न सकिन्छ।
७. ब्रेक लिनुहोस्
अनलाइन दुर्व्यवहारले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ। केही समयका लागि अनलाइन संसारबाट टाढा बस्न सकिन्छ। सामाजिक सञ्जाल बन्द गर्न सकिन्छ। नोटिफिकेसेन पनि बन्द गर्न सकिन्छ। आफ्नो सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हो। आफू तयार भएपछि फेरि अनलाइन हुन, सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ।
८. सम्बन्धित निकायमा उजुरी दिनुहोस्
उजुरी दिने वा नदिने तपाईंको निर्णय हो। तर सम्बन्धित निकायमा उजुरी दिनु न्याय पाउने एउटा बाटो हो। नेपालमा अनलाइनमार्फत् हुने दुर्व्यवहार विरूद्ध प्रहरीमा उजुरी दिन सकिन्छ। स्थानीय प्रहरीकहाँ जाँदा आफ्नो परिचयपत्र र आफूसँग भएको प्रमाण सबै लगेर जानुहोस्।
९. मनोसामाजिक परामर्श लिने
विभिन्न संघ संस्थाले मनोसामाजिक परामर्श दिने गर्छन्। आफूलाई पायक पर्ने सेवाप्रदायकको परामर्श लिन सकिन्छ। त्यस्ता सेवाप्रदायकले मनोसामाजिक परामर्शबाहेक कानूनी उपचारका लागि परामर्श पनि गर्छन्। आफूलाई परेको चिन्ता वा तनाव व्यवस्थापन गर्न मनोसामाजिक परामर्श निकै प्रभावकारी हुन्छ। त्यस्ता सेवाप्रदायकले तपाईंको गोपनियता सुरक्षित राख्नुपर्छ।
१०. तपाईंको उपस्थिति/अस्तित्व मात्रै पनि विरोध/प्रतिरोध हो।
ध्यान दिनुहोस्। तपाईं जे अनुभव गरिरहनु भएको छ, त्यो स्वाभाविक हो। यसरी अनलाइनमार्फत् दुर्व्यवहार र आक्रमण गर्नु गलत हो। तर तपाईंको उपस्थिति/अस्तित्व आफैंमा प्रतिरोध हो। आफ्नो अस्तित्वको अनुभूति गराएर आक्रमणकारीको प्रतिरोध गरिरहनु भएको छ। संसार यही सकिँदैन। तपाईंले गर्ने धेरै सिर्जनाहरु बाँकी नै छन्। ती सिर्जनात्मक कार्यलाई सफल बनाउन ध्यान र उर्जा लगाउनुहोस्।