Kathmandu Press

कोरोना भगाउने नाममा जलाशयमा महिलाको भीड

सिरहा, जेठ २३ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा मह....

कोरोना भगाउने नाममा जलाशयमा महिलाको भीड
फाइल फोटो

सिरहा, जेठ २३ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ। 

सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो। कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिइरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्ययाउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदै पूजाआजा गर्न व्यस्त छन्।

नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयले बताएका छन्। महिला नयाँ लुगा लगाइ डालामा लड्डुु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्तीलगायतका पूजा सामग्री राखेर कमला नदी, बलान खोला तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ।

देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका सिरहाको लहान नगरपालिका–१ की ललितादेवी मण्डलले बताइन् कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ टोलमा प्रवेश नगर्नु भनी बिन्ती गरेपछि कोरोना नआउने हल्लाअनुसार नै महिलाले पूजाआजा गर्ने गरेको मण्डलको भनाइ छ। 

'एक महिला झाँक्रीले आफूलाई कोरोना सपनामा आएर मलाई पूजा गर्नु अनि म गइहाल्छु भनेको छ भन्ने हल्ला चलेको छ,' सोही ठाउँकी सोमित्रादेवी दासले भनिन्, 'त्यही भएर हामीहरु पनि नजिकैको बलान खोलामा पुगेर पूजा गरेका छौं।' बेलुका मन्दिरमा पुगेर दियोसमेत बालेको उहाँको भनाइ छ। 

यतिमात्रै होइन, कतिपय स्थानका महिलाले कोरोना भाइरसलाई (बाबा) र माता भनी सम्बोधन गर्दै महिला दैनिक पूजापाठ गर्न नदी, तलाउ तथा मन्दिरमा पुग्ने गरेकाले महिलाको भीड लाग्ने गरेको सिरहाको कर्जन्हा नगरपालिका–१ की बबिता कार्कीले बताइन। लकडाउनमा घरबाट निस्कन नहुने अवस्था रहँदा पनि त्यसलाई चुनौती दिँदै पैदलयात्रा गरी नदी तथा मन्दिरमा पुग्ने गरेका छन्। 

'हल्लाको भरमा भिड भाड गरि पुजापाठ गर्ने कार्य तत्काल रोक्नुपर्‍यो' नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले भने, 'महिलाहरु यसरी समुह बनाएर पुजाआजा गर्दा कोरोना हट्ने कुरामा न त कुनै वैज्ञानिक तथ्य छ नत कुनै आधार नै, कुनै धामी झाँकीकै हल्लाको भरमा हुल बनाएर पूजापाठ हुनु भ्रममात्र हो यसबाट कोरोना त नियन्त्रण हुँदैहुँदैन, बरु अझ फैलिने खतरा छ, त्यसैले तत्काल यस्तो कार्य रोक्नुपर्छ।' अन्यथा स्थिति भयाबह हुन सक्ने उनको भनाई छ। 

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले यस्तो अवस्थामा पनि समूह बनाएर नदी र मन्दिर पुग्ने महिलालाई सम्झाइबुझाइ गरी रोक्ने प्रयास गरिरहेको बताए। 'प्रहरी प्रशासनले रोक्ने प्रयास गरे पनि चेतनाको अभावमा महिला लुकीछिपी नदी नाला र मन्दिर पुग्ने गरेका छन्।' प्रजिअ गुरागाईंले भने, 'पूजापाठका नाममा हुने गरेको महिलाको भीडभाडलाई रोक्न समाजका सबै पक्षको सहयोग जरुरी छ।' 

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्