उद्योग वाणिज्य संघकाे एम्बुलेन्सबाट लागुऔषध बरामद
तुलसीपुर, जेठ २३ : प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्ससहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ।
....
तुलसीपुर, जेठ २३ : प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्ससहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ।
गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए।
उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य संघको रहेको छ ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशंका गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो।
उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











