Kathmandu Press

यम बमलाई वातावरण पत्रकारिता पुरस्कार

काठमाडौं, जेठ २३ : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्....

यम बमलाई वातावरण पत्रकारिता पुरस्कार

काठमाडौं, जेठ २३ : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ।

हरेक वर्ष विश्व वातावरण दिवस (जून ५)को अवसरमा तीन दशकदेखि नेवापसले वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष २५ हजार रुपैयाँ र प्रमाण–पत्रसहितको पुरस्कार बमलाई प्रदान गर्ने निर्णय गरिएको नेवापसले जनाएको छ।

यस वर्ष पनि सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कारका लागि नेवापसले पत्रकारहरुलाई सन् २०१९ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। नेवापसका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्वमहासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुको मूल्यांकन गरेको थियो।

ग्रामीण विकासमा स्नातक बम नेपाल साप्ताहिकमा सम्वाददाताका रुपमा कार्यरत छन्। नेवापसद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१९’ पाउने उनी ३३औं पत्रकार हुन।

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्