पीसीआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्
सल्यान, जेठ २२ : सल्यानमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेको नौ दिनसम्म रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान पाएका छैनन्।
....
सल्यान, जेठ २२ : सल्यानमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेको नौ दिनसम्म रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान पाएका छैनन्।
बनगाड कुपिण्डे नगरपालिका ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएको कारण घर जान नपाएका हुन्।
नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टाइनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब संकला गरी सुर्खेत पठाइएको थियो। तर अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको यादवले बताए। 'घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौै, रिपोर्ट नआई जान मिल्दैन भन्छन् रिपोर्ट कहिले आउने पनि थाहा छैन,' उनले भने।
रिपोर्ट आउन ढिलो भएको कारण क्वारेन्टाइनमा अन्य समस्याहरु पनि थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिए। 'नगरभित्रका क्वारेन्टाइनमा रहेका ७११ जनाको स्वाब संकलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ,' पोखरेलले भने।
यसैबीच गत शनिबार कोरोना संक्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टाइनको बरण्डामा बस्न बाध्य छन्। सँगै संक्रमण पुष्टि भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेशनमा शनिबार भर्ना गरिएको छ तर बाँकीलाई श्यया अभाव भएको भन्दै क्वारेन्टाइकै बरण्डामा राखिएको हो।
संक्रमित र क्वारेन्टाइनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएको कारण आफूहरुलाई अप्ठेरो परेको संक्रमितको भनाई छ। 'यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर हामी आफैँ बरण्डामा सुत्ने र बस्ने गरेका छौं,' उनले भने।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उनीहरुको व्यवस्थापनको लागि पहल भइरहेको जानकारी दिए। आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको उनले बताए। (रासस)











