Kathmandu Press

बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी

उनले स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी तथा सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाएकी थिइन् ।
बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री मेहता सहभागी

काठमाडौं, कात्तिक २६ : श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहभागी भएकी छन् ।

बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे नेपालको धारणा प्रस्तुत गरेकी थिइन्।

उनले स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी तथा सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाएकी थिइन् ।

बैठकका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट र छलफलसमेत भएको थियो । छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको थियो ।

नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको छ ।

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, कात्तिक २६, २०८३