Kathmandu Press

भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेन शाहको शुभकामना

भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेन शाहको शुभकामना

काठमाडौं, कात्तिक २५ : प्रधानमन्त्री बालेन शाहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्।

पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको उनले उल्लेख गरेका छन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको विश्वास रहेको उनले बताएका छन्।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र मिष्ठान्न परिकार खुवाउने परम्परा रहेको उनले उल्लेख गरेका छन्।

त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको उनले बताएका छन्।

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, कात्तिक २५, २०८३