प्रहरी चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ
काठमाडौं, जेठ २२ : अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । रुकुमको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफ....

काठमाडौं, जेठ २२ : अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । रुकुमको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।
केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए ।
प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०/२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेका थिए ।











