रुकुमपश्चिमको घटनाबारे बोल्यो नेकपा, हत्यारामाथि कडा कारवाही गर्न सरकारसँग माग
काठमाडाैं, जेठ २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही र पीडि....

काठमाडाैं, जेठ २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा महासचिव विष्णुप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलंक र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले संघर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरेका छन्।
अन्तरजातीय प्रेम सम्बन्धमा रहेका जाजरकोटका युवा नवराज विकसहित ६ जनालाई रुकुमपश्चिमा घेरा हाली कुटपिट गरी भेरी नदीमा फाल हाल्न बाध्य भएपछि उनीहरुको शव फेला परेको सार्वजनिक भएको थियो।
महासचिव पौडेलले संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको तर संवैधानिक, कानूनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धि भएपनि व्यवहारमा अझै दलित समुदायमाथि विभेद र हिंसाका घटना देखा पर्नु गम्भीर चिन्ताको विषय भएकाले सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको उल्लेख गरेका छन्।
“वीभत्स र त्रासदीपूर्ण रुकुमपश्चिमको उक्त घटनाको पार्टी निन्दा र भत्र्सना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछूतजस्तो अपराधमा संलग्न व्यक्ति पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । त्यस आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न पार्टी कृतः सङ्कल्पित रहेको छ।” रासस











