Kathmandu Press

डा. तिवारीको नेतृत्वमा सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा सफल

सघन उपचार सेवा प्रमुख डा. प्रदीप तिवारीको नेतृत्वमा गरिएको उपचारपछि गम्भीर फोक्सोको संक्रमणबाट पीडित ४३ वर्षीय पुरुष बिरामी स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डा. तिवारीको नेतृत्वमा सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा सफल

काठमाडौं, कात्तिक १८ : काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालन गरेको छ । सघन उपचार सेवा प्रमुख डा. प्रदीप तिवारीको नेतृत्वमा गरिएको उपचारपछि गम्भीर फोक्सोको संक्रमणबाट पीडित ४३ वर्षीय पुरुष बिरामी स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) भएका ती बिरामीलाई भेन्टिलेटरबाट समेत पर्याप्त सुधार नभएपछि ईक्मो प्रविधिबाट उपचार गरिएको थियो । डा. तिवारी नेतृत्वको चिकित्सकीय टोली मनमोहन मेमोरियल मेडिकल कलेजमै पुगेर बिरामीलाई ईक्मो सहायता प्रदान गर्दै सिभिल अस्पताल ल्याएको थियो । अस्पतालका अनुसार यो नेपालकै पहिलो ईक्मो रिट्रिभल केस हो ।

बिरामीलाई ११ दिन ईक्मो र १४ दिन भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । लामो समयको सघन उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किएका हुन् । ईक्मो (ECMO) मुटु वा फोक्सोले सामान्य रूपमा काम गर्न नसक्ने र भेन्टिलेटरबाट समेत पर्याप्त सुधार नहुने गम्भीर अवस्थाका बिरामीका लागि प्रयोग गरिने उच्चस्तरीय आपत्कालीन उपचार प्रविधि हो । यसमा बिरामीको शरीरबाट रगत निकालेर मेसिनमार्फत अक्सिजन थप्ने र कार्बन डाइअक्साइड हटाउने काम गरिन्छ । यसरी मेसिनले अस्थायी रूपमा मुटु वा फोक्सोको काम गर्दै ती अंगलाई निको हुने समय उपलब्ध गराउँछ ।

यो सेवा सञ्चालनका लागि अत्याधुनिक उपकरण, विशेष प्रविधि र २४ सै घण्टा दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति आवश्यक पर्छ। त्यसैले यसको सञ्चालन र उपचार खर्चसमेत निकै महँगो हुने गर्छ । डा. तिवारीका अनुसार ईक्मो सेवा अस्पतालभित्र मात्र सीमित नरही ‘मोबाइल ईक्मो टिम’ मार्फत बिरामी रहेकै स्थानमा पुगेर पनि उपलब्ध गराउन सकिन्छ । यसपटक मनमोहन मेमोरियल मेडिकल कलेजबाट बिरामीलाई ईक्मोको सहायतामा सिभिल अस्पताल ल्याइनु यसैको उदाहरण हो । नेपालजस्तो देशमा यस्तो रिट्रिभल सेवा विस्तार गर्न सके गम्भीर अवस्थाका धेरै बिरामीको ज्यान जोगाउन सकिने उनको विश्वास छ ।

डा. तिवारीले क्यानडाको टोरण्टो हस्पिटलमा क्रिटिकल केयरसम्बन्धी फेलोसिप गरेका छन् । उनको नेतृत्वमा उपचारमा सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीलगायत चिकित्सक र नर्सिङ टोली संलग्न रहेका थिए ।

छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवामार्फत पहिचान बनाउँदै गएको सिभिल अस्पतालमा ईक्मो सेवा सञ्चालन हुनु नेपालको सघन उपचार प्रणालीमा नयाँ उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी अस्पतालबाहिरै पुगेर बिरामीलाई ईक्मो सहायता प्रदान गर्दै सुरक्षित रूपमा अस्पतालसम्म ल्याउन सकिने सेवाको सुरुवातले जटिल अवस्थाका बिरामीको उपचारमा नयाँ सम्भावना थपेको छ ।

प्रकाशित मिति: १०:१४ बजे, बुधबार, कात्तिक १८, २०८३