पाँच सय भारतीय मजदुर सीमामा अलपत्र
झापा, जेठ २१ : भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा पाँच सय भारतीय नागरिक अलपत्र परेका छन्।
<....
झापा, जेठ २१ : भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा पाँच सय भारतीय नागरिक अलपत्र परेका छन्।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टामा कामगर्ने मजदुर घरतर्फ फर्कने क्रममा सीमामै रोकिएका हुन्।
भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन। स्वदेश फर्कने आशमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन्। नेपाल भारत सीमा दशगजा क्षेत्रमा करिब पाँच सयभन्दा बढी भारतीय नागरिक २४ घण्टादेखि रोकिएका छन्।
केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई प्रहरीको सहयोगमा मेची नगरपालिकाले दशगजामा लगेर छाडिएको थियो। अलपत्र परेका भारतीय नागरिकलाई लैजानका लागि भारतीय सुरक्षाकर्मीमार्फत अनुरोध गरिरहेको इलका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।
उनका अनुसार यसरी दशगजा क्षेत्रमा अलपत्र पर्ने काठमाडौं, लहान, विराटनगर, धरान र झापाकै विभिन्न उद्योगमा काम गर्ने मजदुर रहेका छन्। अलपत्र भारतीय नागरिकलाई काँकडभिट्टा सोसाइटीले खाना खुवाइरहेको छ। उनले भने, 'दशगजामा नेपालबाट फर्कने भारतीय नागरिकलाई भारत सरकारले अनुमति नदिँदा भीडभाड बढेको छ। खुट्टा टेक्ने ठाउँ छैन, काँकडभिट्टा बसपार्कमा उस्तै छ। यहाँ कोरोना संक्रमितको जोखिमका साथै मानवीय संकट आउने सम्भावना देखिएको छ।'
साथै, भारतका विभिन्न स्थानबाट फर्किएर सीमा नाकासम्म आइपुगेका नेपालीलाई सुरक्षित किसिमले उद्धार गरेर आफ्ना जिल्लामा पठाइरहेको उनले बताए।











