बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो ।
घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
नवरात्रका अवसरमा देवी दुर्गाको भक्तिपूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै मान्यताका आधारमा सनातन धर्मावलम्बीले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष अनुष्ठान गर्दछन् ।
दुर्गा पक्षका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ फरक स्वरूपको पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरिएको टीका र जमरा विजयादशमीका दिनदेखि प्रसादका रूपमा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ ।
महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, कालिकास्थान, शोभा भगवती, संकटा, नक्साल भगवती तथा उपत्यकाबाहिरका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।











