Kathmandu Press

राजनीतिमा सुशील भट्टको छलाङ : नेबिसंघको राजनीतिबाट कांग्रेस केन्द्रीय समितिसम्म 

युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै कांग्रेसले बनाएको ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित भट्टका लागि अब पार्टी संगठनलाई थप सुदृढ बनाउने र युवाका मुद्दालाई केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने चुनौती र अवसर दुवै छन् ।
राजनीतिमा सुशील भट्टको छलाङ : नेबिसंघको राजनीतिबाट कांग्रेस केन्द्रीय समितिसम्म 

काठमाडौं, असाेज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सुशील भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

काठमाडौं क्षेत्र नं. ७ बाट महाधिवेशन प्रतिनिधि चयन भएका भट्ट लामो समयदेखि नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । विद्यार्थी राजनीतिबाट संगठन निर्माणमा खटिएका उनी युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका हुन् ।

भट्टले विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनात्मक अनुभव हासिल गरेका छन् । उनी २०६५ सालमा ‘जहाँ स्कुल, त्यहाँ नेविसंघ’ अभियानका संयोजक बनेका थिए । उनले त्यो अभियानबाट देशभरका स्कूलहरुमा नेबिसंघ गठनमा भूमिका खेले । त्यसैगरी, २०६५ सालमै ग्रामीण आदर्श बहुमुखी क्याम्पसको इकाइ सभापति तथा २०६७ सालमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को क्षेत्रीय सदस्य बनेका थिए ।

उनी २०७३ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । १४औँ महाधिवेशनका निर्वाचित प्रतिनिधि तथा महासमिति सदस्यसमेत रहेका भट्टले पार्टीको संगठनात्मक गतिविधिमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । परिवर्तन अभियान नेपालका संस्थापक अध्यक्षसमेत रहेका भट्टको विजयलाई कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्राले अब पार्टीको केन्द्रीय तहमा नयाँ जिम्मेवारी पाएको छ । भट्टले २०७२ सालको महाभूकम्प पश्चात अस्थायी टहारा निर्माण, कोरोना महामारीका समयमा र नाकाबन्दीको बेलामा विभिन्न सामाजिक कार्यमा समेत योगदान गरेका थिए । 

युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै कांग्रेसले बनाएको ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित भट्टका लागि अब पार्टी संगठनलाई थप सुदृढ बनाउने र युवाका मुद्दालाई केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने चुनौती र अवसर दुवै छन् ।

भट्टले आफू केन्द्रीय समितिमा निर्वाचित हुँदै गर्दा कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने प्रतिबद्वता जनाएका छन् । यस्तै बदलिएको राजनीतिक समीकरणमा आम जेनजी युवाप्रति नेपाली कांग्रेसको लोकप्रियतालाई अझ बढाउन आफूले सक्दो भूमिका खेल्ने समेत उनले बताए । 

उनले आफूलाई कांग्रेसको ‘जरासँग’ तुलना गर्दै पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने पनि बताए । भट्टले भने, “अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो ।”  
 

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, असोज २८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्