Kathmandu Press

विवादास्पद अडियो सर्वाजनिक भएपछि रास्वपाले लगायो औपचारिक कार्यक्रममा सहभागी हुन रोक

मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो सामग्री र उनीमाथि उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 
विवादास्पद अडियो सर्वाजनिक भएपछि रास्वपाले लगायो औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं, असोज २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री ९अडियो० र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो। 

छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो सामग्री र उनीमाथि उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

सञ्चारमाध्यममार्फत महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता गम्भीर र संवेदनशील विषयहरू बाहिर आएको भन्दै पार्टीले यस विषयलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ। 

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादा उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको ‘शून्य सहनशीलता’को नीति रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’

यसका साथै रास्वपाले सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गर्दै राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । सरकारी अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाइएको छ ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको स्मरण गराउँदै महामन्त्री आचार्यले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने बताएका छन् । कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जो–कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै नहुने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

प्रकाशित मिति: १०:२५ बजे, मंगलबार, असोज २७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्